कुशल दलामी
बैजनाथ, बाँके ।
न्यु जर्नी युथ क्लबको आयोजनामा बैजनाथ गाउँपालिका–६ का १४ देखि १८ वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरी एकमहिने निशुल्क फुटबल तालिम मंगलबारदेखि सुरु भएको छ। तालिमको उद्घाटन वडा अध्यक्ष भुपाल पुन मगरले प्रशिक्षक युवराज शाहीलाई बल तथा खेल सामग्री हस्तान्तरण गरी गर्नुभएको हो।
तालिमको सम्पूर्ण व्यवस्थापन क्लबको आन्तरिक स्रोतबाट गरिएको हो। क्लबले यसअघि पनि वडाको सहयोगमा यस्ता तालिमहरू संचालन गर्दै आएको छ। यसपटक आन्तरिक आम्दानीबाट निशुल्क तालिम सञ्चालन गरी युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै लागू औषधको दुर्ब्यसनबाट टाढा राख्न र राष्ट्र निर्माणमा योगदान दिने खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने क्लबको उद्देश्य छ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष पुनले सहभागी युवाहरूलाई अनुशासनका साथ तालिममा सहभागी भइ आफ्नो प्रतिभा निखार्न आग्रह गर्नुभयो। कार्यक्रममा क्लबका कार्यवाहक अध्यक्ष दुर्गा बहादुर ओली, सचिव सुमन विश्वकर्मा, क्याप्टेन प्रकाश बुढाथोकी, पुर्ब खेलाडी कर्ण रिजाल, न्यु हरियाली सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष राम कुमार राना, स्थानीय पत्रकार तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
फुटबल खेल सिक्न इच्छुक बैजनाथ–६ का १४ देखि १८ वर्ष उमेर समूहका युवाहरूले क्लबका क्याप्टेन प्रकाश बुढाथोकीसँग सम्पर्क गर्न वडा अध्यक्ष पुनले आग्रह गर्नुभएको सचिव सुमन विश्वकर्माले जानकारी दिनुभयो । बैजनाथ गाउँपालिका स्तरीय खेलमैदान बैजनाथ ६ ओरीलालपुर खेल मैदानमा बिगत लामो समयदेखि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिदै आएकोमा अझै खेलमैदान ब्यवस्थापन गरेर प्याराफिट निर्माण गरिने भएको छ। न्युज जर्नी युथ क्लबले पालिका स्तरिखेलमैदानको संरक्षण एवं ब्यवस्थापनको जिम्मेवारी पाएको छ।