Saturday, May 3, 2025
spot_imgspot_img
Homeबिबिधबाँकेका शिक्षक राजधानी प्रस्थान "नीति विरोधी आन्दोलनमा ४५ जना शिक्षक काठमाडौँतर्फ"

बाँकेका शिक्षक राजधानी प्रस्थान “नीति विरोधी आन्दोलनमा ४५ जना शिक्षक काठमाडौँतर्फ”

कोहलपुर, बैशाख ५ – शिक्षा क्षेत्रमा देखिएको असन्तुष्टिका कारण आन्दोलनरत शिक्षकहरूले अब आन्दोलनलाई थप प्रभावकारी बनाउने रणनीति अन्तर्गत राजधानी प्रस्थान गरेका छन्।

कोहलपुर नगर शिक्षक महासंघका अध्यक्ष निम प्रकाश थापा, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषिराम शर्मा, र नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका अध्यक्ष बाबुराम अधिकारी लगाएतको नेतृत्वमा बाँके जिल्लाबाट ४५ जना शिक्षक शिक्षिकाहरूको टोली काठमाडौँतर्फ प्रस्थान गरेको हो।

शिक्षकहरूको यस आन्दोलनको मुख्य उद्देश्य सरकारले शिक्षाको क्षेत्रमा ल्याउन खोजेको नयाँ नीति तथा संरचना विरुद्ध आवाज बुलन्द गर्नु हो। उनीहरूको भनाइमा स्थानीय तहमा शिक्षा व्यवस्थापनको नाममा शिक्षण पेशामाथि हस्तक्षेप गरिएको छ र पेशागत सुरक्षामा खतरा बढेको छ। नेपाल शिक्षक संघ बाँके अध्यक्ष ऋषिराम शर्माले भने, “शिक्षकहरूको मागलाई बेवास्ता गर्दै सरकारले जबरजस्ती नीति लागु गर्न खोजेको छ, जसले शिक्षाको गुणस्तरभन्दा बढी राजनीतिक हस्तक्षेप बढाउनेछ। शिक्षकहरुका माग पूरा नभएसम्म आन्दोलन रोकिनेछैन।”

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका अध्यक्ष बाबुराम अधिकारीले भने, “हामी शिक्षाको शुद्धिकरण, पेशागत सुरक्षा र पारदर्शिता चाहन्छौं। शिक्षकलाई सेवा, सुरक्षा र सम्मान नभएको अवस्थामा गुणस्तरीय शिक्षा सम्भव छैन।” शिक्षकहरूको टोली शनिबार बिहान काठमाडौँ पुग्ने र शनिबार देखि चरणबद्ध रूपमा आन्दोलनमा सहभागी हुने जनाएको छ।

यसअघि पनि शिक्षक संगठनहरूले वार्ताका लागि पटक–पटक सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन्। बाँकेका सबै सामुदायिक विद्यालय बन्द छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments