रुपा गहतराज
नेपालगन्ज —रौतहट जिल्ला फुटबल संघ नेपालगन्ज लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रौतहटले आइतबार घरेलु टोली बाँके ११ लाई ३–० ले पराजित गर्यो । रौतहटलाई विजयी दिलाउन जेनिफर रानामगर, समीक्षा राई, पियुलीले राओले गोल गरे ।
प्लेयर अफ द म्याच सिमरन राई भइन् । जेनिफरको गोलमार्फत २७औं मिनेटमा रौतहटले अग्रता लिएको थियो । सेनु परियारको पासलाई जेनिफरले उत्कृष्ट हेडर गोल गरिन् । दोस्रो हाफको सुरुमै रौतहटले अग्रता दोब्बर बनायो ।जेनिफरकै पासमा समीक्षा राईले गोल गरिन् । । भारतीय खेलाडी पियुलीले ५१औं मिनेटमा गोल गर्दा रौतहटको अग्रता ३–० मा पुग्यो । उनले जेनिफरको क्रसलाई वान टचमै पोस्टको दिशा दिइन् ।रौतहटले फाइनल प्रवेशका लागि वैशाख १० गते नेपाल एपीएफ क्लब र कर्णाली प्रदेशबीचको विजेतासँग खेल्नेछ ।
एपीएफले सोमबार कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।बाँके ११ का टिम प्रशिक्षक सानु तामाङले प्रतियोगिताका लागि पर्याप्त समय नभएको बताए । ‘हामीसँग खेलाडी अनि समय पनि पर्याप्त भएन । उनले भने, ‘तर जसरी प्रतिस्पर्धा गरे यो हाम्रो खेलाडीको राम्रो प्रयास मान्नुपर्छ ।’ कप्तान उर्बशी शाहीले हारबाट धेरै सिकाइ भएको बताइन् । ‘आफूभन्दादा सिनिएर खेलाडीसँग खेल्न पाउँदा धेरै खुसी छौं,’ उनले भनिन्, ‘जति हामीले प्रयास गरेका छौं, त्यो आफैंमा राम्रो हो ।’
रौतहटका टिम म्यानेजर भोजराज घिमिरे आफ्नो टोलीले अपेक्षा गरे अनुरूप गोल गर्न नसकेको बताए । उनले भने, ‘जुन किसिमको खेल खेल्यौं त्यो आफैंमा सन्तुष्टि छैन । अन्तिम समयतिर टिममा कसले गोल गर्ने भन्ने समन्वय मिलेन ।’ रौतहटकी क्याप्टेन सलोनी राना मगर पूर्ण रूपमा खेलबाट खुसी नभएको बताइन् । ‘पहिलो दिन भएर होला अलिकति असजिलो महसुस भयो । धेरै ठाउँमा फिनिसिङमा चुक्यौं,’ उनले भनिन् ।