कोहलपुर, बाँके ।
कोहलपुर इलाका प्रहरी कार्यालयको नवनियुक्त प्रमुख लक्ष्मी खनालले कोहलपुर क्षेत्रका सञ्चारकर्मीहरूसँग परिचयात्मक छलफल तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ। कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुरको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको समन्वय एवं ईलाका प्रमुख लक्ष्मी खनालको अध्यक्षतामा पत्रकार भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरिएको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले प्रशासकले दम्भ देखाउने तरिकाले प्रस्तुत भए कुनै पनि प्रशासक सफल नहुने बताउँदै कोहलपुरमा कार्यभार सम्हाल्नुभएका प्रहरी प्रमुख खनाललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।उहाँका अनुसार पत्रकारहरुले सकारात्मक कामको प्रशंसा सँगै खबरदारी गर्ने बताउँदै कोहलपुरको बसाई सहज र सफल रहोस भनी शुभकामना समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा कोहलपुर क्षेत्रका क्रियाशील पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कोहलपुर ईलाका प्रहरी कार्यालय प्रमुख (डिएसपी)खनालले पत्रकारहरूसँग कुराकानी गर्दै, “कार्यालय प्रमुख महिला कि पुरुष भन्ने होइन, कार्यालय प्रमुख नै हो,” भन्ने धारणा राख्नुभयो। आफू सञ्चार विभागबाट आएकोले सञ्चारमैत्री वातावरण निर्माण गर्न विशेष प्राथमिकता दिने र महिलाहरूका लागि समेत विशेष सुविधा तथा सहजताहरूको थालनी गरिने बताउनुभयो।
खनालले आफ्नो कार्यकालको सुरुवात अन्तरक्रियात्मक कार्यक्रमबाट गरेकाले, कार्यकाल समाप्तिपछि कोहलपुर छोड्दा पनि कार्य प्रगति सार्वजनिक गरेर मात्र बिदाइ हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूसँग सहकार्य गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न प्रहरी र पत्रकारबीचको समन्वय झन सशक्त बनाउने चाहना पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी पत्रकारहरूले प्रहरी प्रशासनसँग सहकार्य गर्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारिता गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।