दाङ, घोराही — नेकपा (एकीकृत समाजवादी)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन दाङको घोराहीमा सुरु भएको छ। “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नारासहित सुरु भएको अधिवेशनमा पार्टी महासचिव घनश्याम भुसालले हालसम्म सार्वजनिक पद सम्हालेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
भुसालले अधिवेशनलाई सम्बोधन गर्दै भने, “भ्रष्टाचार गर्ने मुख्य नाइके नेतृत्व र नेताहरू नै भएका कारण, भ्रष्टाचार नियन्त्रण नगरी देश विकास र सुशासन सम्भव छैन।” उनले सार्वजनिक पदमा रहेर अकस्मात् धनी भएका व्यक्तिहरूको सम्पत्ति कहाँबाट आयो भन्ने प्रश्न गर्दै सबै नेताको सम्पत्ति छानबिन गरिनुपर्ने माग राखे।
उनले थपे, “देशको सम्पत्ति चुहावट रोक्न र विकासलाई गति दिन सार्वजनिक जिम्मेवारी सम्हालिसकेका सबै नेताहरूको निष्पक्ष छानबिन हुनुपर्छ। त्यसपछि मात्र सुशासनको जग बस्नेछ र समाजवाद तर्फको यात्रा सम्भव हुनेछ।”
कार्यक्रममा भुसालले सुशासन, पारदर्शिता, र जनताको भरोसा कायम गर्नका लागि पार्टी प्रतिबद्ध रहेको बताएका थिए। उनले भ्रष्टाचार नियन्त्रण गर्न सकिए मात्र मुलुकमा स्थायी विकास सम्भव हुने तर्क राखे।
लुम्बिनी प्रदेशको यो अधिवेशनले समाजवादतर्फको यात्रा र पार्टीको आगामी रणनीतिबारे स्पष्ट मार्गचित्र तय गर्ने विश्वास गरिएको छ।