बाँके, बैशाख २७ – नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन लुम्बिनी प्रदेशको प्रमुख नेतृत्व र पार्टी कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको छ। अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिलेको सरकारलाई “भ्रष्टाचारमा लिप्त गठबन्धन” को संज्ञा दिएका छन्।
उनले भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी स्टेट ओम्नी समूहसँग जोडिएको व्यापक भ्रष्टाचारका घटना उल्लेख गर्दै यस्तो गठबन्धनबाट जनताको हितमा कुनै काम हुन नसक्ने बताएका थिए। “भ्रष्टाचारका नाइकेहरू सरकारमा छन्, जनपक्षीय नीति र कार्यान्वयनको अपेक्षा गर्नु बेकार छ,” पाण्डेले भने।
कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रदेश अध्यक्ष सोम पाण्डेले गरे भने प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, विशिष्ट अतिथि उपाध्यक्ष प्रकाश ज्वाला, विशेष अतिथि महासचिव घनश्याम भुसाल रहेका थिए। कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका १५ सह सहभागी एवं ४५० प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालले जानकारी दिनुभयो ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा नेकपा एमाले परित्याग गरेर ५५ जना नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गरेका नेताहरूमध्ये अधिकांश स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गरिरहेका व्यक्ति रहेको जनाइएको छ।
अधिवेशनमा समसामयिक राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण, र भविष्यको रणनीति तय गर्ने विषयमा छलफल भएको थियो। कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश उपसचिव अब्दुल हुँसैन खानले गरेका थिए।