काठमाडौं – अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले मुनु सिग्देललाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ।
साथै उपाध्यक्षमा उषा पोख्रेल, भगवती नेपाल, रमिला गुरुङ, गीता सोडारी, कलीला खातुन, अनारकलि मिया र देवी वली चयन भएका छन्। महासचिवमा राजेन्द्र लक्ष्मी गैरे निर्वाचित हुनुभएको छ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि सर्वसम्मत तथा मतदान प्रक्रियाबाट चयन भएका छन्।
नव-निर्वाचित अध्यक्ष मुनु सिग्देलले आफ्नो कार्यकालमा संगठनलाई थप सशक्त बनाउँदै देशभर स्थानीय तहसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले महिलाहरूलाई नेतृत्वमा अगाडि ल्याउने कार्यलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो।
“महिला सशक्तीकरणका लागि संगठनात्मक एकता, नेतृत्व विकास र नीति निर्माण प्रक्रियामा महिला सहभागिता बढाउनतर्फ ध्यान केन्द्रित गरिनेछ,” अध्यक्ष सिग्देलले बताउनुभयो।
सम्मेलनमा मुलुकभरबाट महिला प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनले महिला आन्दोलनलाई सशक्त बनाउने र संगठनात्मक रुपमा विस्तार गर्ने नीति तय गरेको छ।