बाँके, बैजनाथ – बैजनाथ गाउँपालिकामा उपाध्यक्ष निर्मला रोकाय र कर्मचारीबीचको असमझदारी गहिरिँदै गएपछि वडाध्यक्षहरू र विभिन्न शाखाका कर्मचारीहरूको सामूहिक आग्रहमा आकस्मिक कार्यपालिका बैठकको माग गरिएको छ।
गाउँपालिकामा कार्यालय तालाबन्दी, सामाजिक सञ्जालमा गरिएको अभिव्यक्ति, र विवादको विषयमा छलफल गर्न आवश्यक रहेको जनाउँदै वडाध्यक्षहरूले गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीलाई पत्र बुझाएका थिए।
यसैबीच, शिक्षा, योजना, स्वास्थ्य, कृषि, पशु, भवन, लेखा, महिला तथा बालबालिका शाखाका प्रमुख तथा कर्मचारीहरूले समेत छुट्टै पत्रमार्फत उपाध्यक्ष रोकायद्वारा सामाजिक सञ्जालमा गरिएको “शब्द चयन र गम्भीर आरोप” प्रति आपत्ति जनाएका छन्। उनीहरूले तथ्यबिना लगाइएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वस्तुस्थितिमा आधारित स्पष्ट अनुसन्धान गरी निष्पक्ष निर्णय हुनुपर्ने माग गरेका छन्।
कर्मचारीहरूले बुझाएको पत्रमा भनिएको छ, “उपाध्यक्षद्वारा सामाजिक सञ्जालमा प्रयोग गरिएको शब्दले कर्मचारीको मान–सम्मानमा आँच पुगेको छ। यस्तो कार्यले सम्पूर्ण कर्मचारीको मनोबल गिराएको छ।”
वडाध्यक्षहरूको तर्फबाट बुझाइएको पत्रमा आठै वडाका अध्यक्षहरूको हस्ताक्षर छ। त्यस्तै, कर्मचारी पक्षबाट शाखा प्रमुख तथा कर्मचारीहरूको हस्ताक्षर गरिएको छ।
गाउँपालिका अध्यक्ष शाहीले दुवै पक्षबाट प्राप्त पत्रलाई गम्भीरतापूर्वक लिँदै भने, “समस्या समाधानका लागि सबै सरोकारवाला पक्षलाई समेटेर बैठक बोलाउने तयारी भइरहेको छ। गम्भीर विषय भएकाले छिट्टै निर्णय गरेर समाधान गरिने बताए।
बैजनाथ गाउँपालिकाका वडा अध्यक्षहरुले स्थानीय सरकारले गरेका कामप्रती सामाजिक संजालमा भैरहेको आलोचना जनप्रतिनिधि बाट नै आएको अभिव्यक्तिको बारेमा तत्काल आकस्मिक बैठक बोलाएर समाधान निकाल्न बैठक मागको पत्र गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीलाई बुझाएका छन् ।
बैजनाथ गाउँपालिकाका कर्मचारीहरुले सयुक्त हस्ताक्षर गरेर कर्मचारी प्रती उपाध्यक्षले भित्र बाट तालाबन्दी गरेर राष्ट्र सेवक कर्मचारीको गरिमा माथी नै प्रश्न चिन्ह खडा भएकोले ध्यानाकर्षण सहित सयुक्त हस्ताक्षर सहितको पत्र गाउँपालिका अध्यक्ष शाहीलाई हस्तान्तरण गरेका छन् ।
स्थानीय तहमा देखिएको यस प्रकारको आन्तरिक द्वन्द्वले सेवा प्रवाहमा प्रत्यक्ष असर पुर्याउने भएकाले अबको बैठक निर्णायक हुने अपेक्षा गरिएको छ।