बाँके, जेठ १७ गते।
बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, नौबस्तास्थित कन्हवा ताल अब विस्तार गरिने भएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत वन तथा भू–संरक्षण मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा ताल विस्तारका लागि २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेशसभा सदस्य रत्न खत्रीले जानकारी दिनुभयो।
हाल तालको पूर्वतर्फ रहेको गहिरो जमिनमा माटो निकाली बाँध निर्माणको काम सुरु गरिएको छ। यसले तालको आकार ठूलो बनाउन मद्दत गर्ने प्रदेशसभा सदस्य खत्रीले बताउनुभयो। “रमणीय रहेको यो ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न खोजेका छौं,” उहाँले भन्नुभयो, “यसका लागि थप बजेटको आवश्यकता देखिएको छ।”
स्थानीय राजबहादुर थारूका अनुसार कन्हवा ताल पछिल्लो समय आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। केही वर्षअघिसम्म ओझेलमा परेको यो ताल अहिले भने पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको उहाँको भनाइ छ। ताललाई थप आकर्षक बनाउन प्रदेश, संघ र स्थानीय तहबाट संयुक्त लगानी आवश्यक रहेको उहाँले बताए।
थारूले तालको वरिपरि पदमार्ग निर्माण तथा बोरिङको आवश्यकतामा पनि जोड दिनुभयो। बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको यो ताल पूर्वाधार अभावका कारण अझैपनि अपेक्षित विकासबाट टाढा रहेको स्थानीयको धारणा छ।
सरकारी लगानी र स्थानीय सहभागितासँगै तालले नजिकिँदै गरेको पर्यटकीय सम्भावना सार्थक हुने आशा गरिएको छ।