“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने नारासहित नेकपा (एकीकृत समाजवादी) पार्टी बाँकेले शनिबार नेपालगञ्जमा विभिन्न राजनीतिक दलका नेताहरू र बौद्धिक व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँले केन्द्रदेखि स्थानीय तहसम्म पार्टीले सञ्चालन गर्दै आएको आन्दोलनका विषयवस्तुहरूमा समग्रमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) बाँके जिल्ला अध्यक्ष दिपक जियमले गर्नुभएको थियो। कार्यपत्र अध्ययन केन्द्रीय सदस्य नारायणी ओलीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूमार्फत आएका सुझावहरूलाई पार्टी उपाध्यक्ष करिश्मा योगी, उपसचिव प्रेमिका शाही र नगर अध्यक्ष गणेश ज्ञवालीले टिपोट गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उपसचिव टेकेन्द्र मल्लले गर्नुभएको थियो।
नेकपा (एकीकृत समाजवादी) ले २०८१ सालको चैत १ गतेदेखि रोजगारी र सुशासनको मागसहित देशभर ज्ञापनपत्र बुझाउने, अन्तरक्रिया, बहस, सुझाव संकलन लगायत कार्यक्रम गर्दै आइरहेको छ। आन्दोलनले कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, वैदेशिक नीति, संविधान कार्यान्वयनको पुनरावलोकन लगायतका विषय समेटेको छ।
शनिबारको कार्यक्रममा विशिष्ट सहभागीहरूमा राजनीतिक शास्त्री डा. जनार्दन आचार्य, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका नेता ताराप्रसाद खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विनोद अग्रहरी, राप्रपाका कार्यवाहक अध्यक्ष नारायण शर्मा, जनमोर्चाका नेता कृष्ण पाण्डे, नयाँ शक्तिका नेता केवल गिरी, नेकपा विप्लवका केन्द्रीय सदस्य नारायण लम्साल, उद्योग वाणिज्य संघ नेपालगन्ज अध्यक्ष टंक धामी, सर्जन तथा समाजसेवी डा. विनोद कर्ण, समाजसेवी गोपाल गिरि, सञ्चारकर्मी लगायतका नेताहरू तथा कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।
पार्टीले जेष्ठ १८ देखि २० गतेसम्म जिल्लाका मुख्य स्थानहरूमा पर्चा तथा पम्प्लेट वितरण गर्ने कार्यक्रम रहेको जानकारी जिल्ला उपाध्यक्ष करिश्मा योगीले दिनुभएको छ।