अर्घाखाँची, जेठ १९।
सार्वजनिक यातायात बचाउ संयुक्त आन्दोलन परिचालन समिति, अर्घाखाँचीले सातबुँदे माग अघि सार्दै पत्रकार सम्मेलनमार्फत अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ।
देउराली यातायात, पश्चिम नेपाल बस, अर्घा भगवती, ट्याक्सी व्यवसायी र लंका यातायात प्रा.लि.का प्रतिनिधिहरूले संयुक्त रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन्। उनीहरूले कालो नम्बर प्लेट भएका सवारीसाधनलाई मात्र यात्रु बोक्न दिने र रातो नम्बर प्लेटलाई रोक लगाउने सरकारी निर्णयको विरोध गरेका छन्।
गोविन्द बन्जाडेको संयोजकत्वमा ११ सदस्यीय आन्दोलन समिति गठन गरिएको छ। गाडीहरू ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको छ।
पत्रकार सम्मेलन प्रेम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो, जहाँ पत्रकार महासंघका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आन्दोलनकारीले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।