बर्दिया — नेकपा (एकीकृत समाजवादी) बर्दिया जिल्लाको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट बखत बहादुर खड्काको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको छ।
अधिवेशनले उपाध्यक्षमा बम बहादुर रावल र प्रताप गौतम, सचिवमा इन्द्रबहादुर रावल तथा उपसचिवमा अग्नि अर्याल, दानबहादुर बुढा र गंगा चालिसेलाई चयन गरेको छ।
कार्यक्रमको उद्घाटन केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले गर्नुभएको थियो। अधिवेशनमा १३ वटा प्रस्ताव पारित गरिएको छ भने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनसमेत पारित गरिएको छ।
अधिवेशनमा प्रदेश अध्यक्ष अब्दुल हुसेन, केन्द्रीय सदस्य कौशिला सिंह ठकुरी नारायणी ओलि लगायतको उपस्थिति थियो।
प्रचारप्रसार प्रमुख प्रतापकुमार गौतमका अनुसार पार्टी विस्तारका लागि केही पद सुरक्षित राखिएको छ। अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिइएको छ।