Tuesday, July 1, 2025
spot_imgspot_img
Homeसमाजभू–अधिकारको अभियान बैजनाथमा तीव्र, भूमिहीनलाई लालपुर्जा वितरणको तयारी

भू–अधिकारको अभियान बैजनाथमा तीव्र, भूमिहीनलाई लालपुर्जा वितरणको तयारी

कुशल दलामी

बाँके — बैजनाथ गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच कार्यलाई तीव्रता दिएको छ। गाउँपालिकाको नेतृत्वले यसलाई विकास र नागरिक अधिकारसँग जोडेर प्राथमिकतामा राखेको छ।

नापजाँच कार्य बैजनाथ–७ पेडारीस्थित किसान सहिद बैजनाथ स्मृति भवनबाट सुरु भई हाल बैजनाथ–४ चिल्लेटा र बैजनाथ–६ को अठ्ठाईस घर, गौथली सामुदायिक वन उपभोक्ता समूह क्षेत्रसम्म विस्तार गरिएको हो। गाउँपालिका सूचना अधिकारी तप्तराज आचार्यका अनुसार, कार्यको सुरुवात जनताको भूमिसम्बन्धी समस्या समाधानका लागि गरिएको हो।

भू–समस्या समाधान आयोग बाँके जिल्ला अध्यक्ष घननाथ खनाल र बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले संयुक्त रूपमा नापजाँच कार्यको उद्घाटन गर्नुभएको थियो। दुबै नेताले “अब विकास गरौं, जनताको काम गरौं” भन्ने नारासहित जनताबीच जाने प्रतिवद्धता व्यक्त गरे।

राजनीतिक दल फरक भए तापनि शाही (नेपाली कांग्रेस) र खनाल (एमाले) दुबै नेता बैजनाथको विकास र जनताको अधिकार सुनिश्चित गर्ने साझा उद्देश्यमा एकजुट भएका छन्। शाही हाल पालिका अध्यक्ष हुनुहुन्छ भने खनाल पछिल्लो चुनावमा उपविजेता हुनुभएको थियो।

गाउँपालिकाको तीन वटा वडामा तीनवटा सर्वे मेसिनमार्फत नापजाँच कार्य अगाडि बढाइएको छ। सबै वडामा समस्या समाधान समिति गठन गरिएका छन्, जसले कुनै विवाद आएमा समाधान गर्दै कार्यलाई अघि बढाइरहेका छन्। बैजनाथ–६ मा जिम्मेवारी पाएका अमिन मेघराज थापाका अनुसार, हालसम्म कुनै उल्लेख्य समस्या देखिएको छैन र स्थानीय नागरिकहरूले सहज वातावरण बनाइदिएका छन्।

भूमि समस्या समाधान आयोग जिल्ला सहजीकरण समिति सदस्य तथा बैजनाथ–६ का पूर्व वडाध्यक्ष भद्र बहादुर बस्नेतले जनप्रतिनिधि, समाजसेवी र नागरिकको सक्रिय सहयोगले कर्मचारीलाई कार्य गर्न सहज भएको जानकारी दिनुभयो।

गाउँपालिकाको यो अभियानले भूमिहीनलाई लालपुर्जा प्रदान गर्ने दिशामा ठोस आधार बनाएको छ। यदि यो कार्य सफलता पूर्वक सम्पन्न भयो भने बैजनाथको भूमिहीन वर्गको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको युवा समाजसेवी नेकपा एमाले बैजनाथ ६ वडा अध्यक्ष दिल बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments