बाँके, बैजनाथ —
“सामुदायिक बन संरक्षणमा सम्पूर्ण उपभोक्ता एकजुट होऔं, नियमको पालना गरौं” भन्ने मूल नाराका साथ बैजनाथ गाउँपालिका–४ मा रहेको नव प्रतिभा महिला मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहले बिपन्न वर्गका स्थानीय उपभोक्ताहरूलाई लक्षित गर्दै ११ बिपन्न परिवारलाई बंगुर पाठा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष भगवती शाहले गर्नुभएको थियो। कार्यक्रममा वडा प्रतिनिधि रामचन्द्र थारु, बाँके राष्ट्रिय निकुञ्जका प्रेम कार्की, देउराली हरियाली मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष लोकेन्द्र बहादुर खत्री, देउडा संस्कृति संरक्षण प्रतिष्ठान बाँके अध्यक्ष विष्णुकान्त आचार्य, उपभोक्ता समिति प्रतिनिधि अम्मर सिंह बुढा लगायत टोल समिटीका संयोजक र स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको थियो।
बि.स. २०५४ सालमा स्थापना भएको उक्त समूहलाई प्रारम्भिक चरणमै प्लान नेपालले २२ हेक्टर क्षेत्रमा तारबारका लागि सहयोग गरेको थियो भने एफानका जय नारायण यादवको सहजीकरणमा ६० हजार बिरुवा वितरण गरिएको थियो। त्यसपश्चात तत्कालीन वन मन्त्री मातृका प्रसाद यादवले अध्यक्ष भगवती शाहलाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान गर्नुभएको थियो।
२५९.१५ हेक्टर क्षेत्रफलमा फैलिएको यस मध्यवर्ती सामुदायिक बनले हरेक वर्ष विपन्न उपभोक्तालाई आयआर्जनमा जोड्ने उद्देश्य राख्दै कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो वर्ष: ८ वटा ठेलागाडा वितरण गरी ७ जना आत्मनिर्भर बनाइयो। ४० जना किसानलाई ४० क्विन्टल बेसारको मुल बीउ,२५ जनालाई तुलसी,२५ जनालाई कुरिल्लो खेतीका लागि सहायता दिईएको थियो। ४ जनालाई सिलाईकटाई तालिम पछि सिलाई मेसिन हस्तान्तरण गरियो।११ जना बाख्रापालकलाई १२० क्युफिट काठ,१,०५० मिटर तारजाली मार्फत खेतको सुरक्षा व्यवस्था मिलाइएको छ।
पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास सामुदायिक बनलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पिकनिक स्पट निर्माण गरिएको छ। भविष्यमा: ठुलो जलाशय निर्माण,बोट सञ्चालन, गोलघर, गेटसहितको पार्क, फलफूलका बिरुवा रोपण,पक्की सडक निर्माण,होमस्टे सञ्चालन गर्दै आर्थिक समृद्धितर्फ डोर्याउने योजना रहेको अध्यक्ष शाहले बताउनुभयो।
समाजसेवा र मानवहितका कार्यहरू ९ सयभन्दा बढी उपभोक्तालाई आबद्ध गराएको यस समूहले:प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त घर पुनर्निर्माणका लागि निशुल्क काठ,शौचालय निर्माणमा काठ र खर,एकल महिलालाई खानेपानी धारा,बालबालिकालाई शिक्षाका लागि शिक्षक व्यवस्था,सार्वजनिक स्थलहरूमा धारा स्थापना गरिएको छ।,एकल महिला, अपांग, दर्जी,लोहार, ब्राह्मण लगायतलाई निशुल्ल सदस्यता र नवीकरण निशुल्क गराउँदै आएको छ।
सुरक्षा र संरक्षण नीति मेषजाली भत्काउनेलाई ५० हजार, फोहोर फाल्नेमा १० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने चोरी निकासी सूचना दिनेलाई ५०% पुरस्कार दिईने ब्यवस्था गरिएको छ भने सुराकीको नाम गोप्य राखिने व्यवस्था गरिएको छ।
गौरीडाँडा, चिलेटा, तिलकपुर, नौलापुर, गिदरपुर, जनमतटोल, ईट्टानाला, बानियाभार, आकाशनगर र बोरीङ बस्तीका उपभोक्तालाई समेट्दै सामुदायिक वनले स्थानीय स्रोत र क्षमता उपयोग गर्दै आत्मनिर्भरता, समृद्धि र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान गरिरहेको छ। आगामी दिनमा अझै बढी सामुदायिक सहकार्य र विकासका योजनाहरुलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता अध्यक्ष भगवती शाहले जनाउनुभएको छ।