बाँके — बैजनाथ गाउँपालिका–४ का वडा सदस्य तथा युवा समाजसेवी कर्ण कठायतले वर्षाका कारण बिग्रिएका सडकहरूमा आफ्नै व्यक्तिगत लगानीमा ग्राभेल हालेर मर्मत गरेका छन्। वडाका विभिन्न टोल–टोलमा पानीले भरिएका खाल्डाखुल्डी र हिलोले आवतजावतमा समस्या भएपछि उनले यस्तो कदम चालेका हुन्।
कठायतले वडा कार्यालयको बजेटको प्रतीक्षा नगरी सडक सुधारमा निजी खर्च गरेर स्थानीयवासीको दैनिक जीवन सहज बनाउन सहयोग गरेका हुन्। उनका अनुसार यो पहल अस्थायी समाधान हो, तर तत्कालका लागि जनताको सास्ती कम गर्न जरुरी थियो।
“स्थानीय समस्यामा चुप लाग्नुभन्दा जति सकिन्छ, त्यति सहयोग गर्ने सोच हो,” कठायतले बताए।
स्थानीय बासिन्दाहरूले वडा सदस्यको यो कामको खुलेर प्रशंसा गरेका छन्। उनीहरूको भनाइ छ — कठायतले देखाएको सक्रियता र सामाजिक उत्तरदायित्व अन्य जनप्रतिनिधिका लागि पनि उदाहरणीय बन्न सक्छ।