वडा सदस्य कर्ण कठायतको निस्वार्थ समाजसेवा: पारिश्रमिक त्यागेर सडक विकासमा समर्पण
बाँके — बैजनाथ गाउँपालिका–४ का वडा सदस्य कर्ण बहादुर कठायतले आफ्नो पदीय पारिश्रमिक र सेवा सुविधा वडाको समग्र विकासका लागि खर्च गर्दै आउनुभएको छ। २०७९ सालमा निर्वाचित भएपछि २०८२ साल असार मसान्तसम्म पालिकाबाट प्राप्त सम्पूर्ण सेवा सुविधा सडक निर्माण र मर्मतमा लगानी गरिएको उहाँले बताउनुभयो।
वडाभित्रको “डाइ मेन बाटो ड्राइभिङ” रणनीति अनुसार कर्ण कठायतले सिमलघारी, गिदरपुर, चारतारे टोल, ओपिनी टोल, जनमत टोल, पिपलडाँडा, नौलापुर गाउँ, बानियाँभार बजार, बोरिङ बस्ती, विकासनगर, चिल्याटा, तिलकपुर (सानो र ठूलो गाउँ), सुन्दरटोल र गौरीडाँडालगायत स्थानका सडकहरू मर्मत गर्नुभएको छ।
कुल ८८ टिप ग्राभेल प्रयोग गरी सडकका खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न गरिएको हो। टिपको प्रतिटिप ४ हजार रुपैयाँका दरले ३ लाख ५३ हजार ८९९ रुपैयाँ खर्च भएको र ग्राभेल फिजाउने मजदुरका लागि ८ हजार रुपैयाँ ज्याला भुक्तानी गरिएको कठायतले जानकारी दिनुभयो।
विकास कार्यमा मात्रै नभई समाजसेवामा पनि कठायत अग्रसर रहँदै आउनुभएको छ। बैजनाथमा पहिलोपटक नेपाल घरेलु तथा साना उद्योग संघद्वारा आयोजित मेला महोत्सवको प्रमुख प्रायोजकका रूपमा उहाँले २ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो। यस्तो सहयोग उहाँले पटक–पटक गर्दै आइरहनुभएको छ।
“मैले कुनै लोभ लालच वा पदको लागि सहयोग गरेको होइन, यो मेरो निस्वार्थ समाजसेवा हो,” कठायतले भन्नुभयो, “राम्रो काम गर्नलाई कसैले रोक्दैन, जनताले नै मूल्यांकन गर्छन्। म आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जानेछु।”