दाङ भदौ २३- थारू समुदायमा दसैं सुरु हुनुअघि नाचिने सख्या पैयाँ नाच दाङका थारू बस्तिहरूमा सुरु भएको छ। यो नाच थारू जातिको सांस्कृतिक परम्परा हो, जसलाई दसैं आउनु १२–१५ दिन अघिदेखि नै गाउँगाउँमा नाचेर दसैंको स्वागत गरिन्छ । घोराही उपमहानगरपालिका–६ लख्वार गाउँमा सख्या नाच सुरु भएको जानकारी स्थानीय युवा राजन चौधरीले दिनुभयो । उहाँका अनुसार घोराहीका अन्य थारू बस्तिहरूमा पनि नाच सुरु भइसकेको छ ।
दंगीशरण गाउँपालिका–३ हेकुली गाउँमा भने अहिले नाचको तयारी भइरहेको छ। स्थानीय लोकमान चौधरीले “अहिले मादल बनाउने काम भइरहेको छ, एक–दुई दिनमै नाच सुरु हुन्छ,” भन्नुभयो । थारू बस्तीहरूमा एक ठाउँबाट सुरु भएपछि वरपरका गाउँहरूमा पनि सख्या नाच सुरु हुने परम्परा छ ।
कसरी नाचिन्छ सख्या नाच?
थारू समुदायमा दिनभरि खेतबारीको काम सकाएर, राति खानपान गरेपछि रातको ८ बजेपछि गाउँको मटावाको आँगनमा सख्या नाचिन्छ। दसैंका तीन दिनबाहेक प्रायः रातिमा मात्र नाचिने भए पनि, टीकाको दिनदेखि बडादसैंसम्म भने दिउँसो पनि नाच्ने चलन छ ।
सख्या नाचमा अविवाहित युवतीहरू (बठिन्या) थारू मौलिक भेषभूषामा सजिएर हातमा मञ्जिरा बजाउँदै एक स्वरमा सख्या गीत गाउँछन्। युवकहरूले (मन्डर्या) मादल बजाएर साथ दिन्छन् ।
नाच दुई समूह बनाएर गरिन्छ –
- 
एउटा समूहको नेतृत्व मोह्रिन्या (मुख्य अगुवा युवती) ले गर्छिन् । 
- 
अर्को समूहको नेतृत्व पछगिन्या ले गर्छिन् । गीतको पहिलो चरण मोह्रिन्याको समूहले गाउँछ, दोस्रो चरण पछगिन्याको समूहले। मादल भने गीत गाउने समूहतर्फ गएर बजाइन्छ । नाचबीच–बीचमा पैया नाच पनि देखाइन्छ, जुन झनै रमाइलो बनाउँछ । 
कहाँ–कहाँ नाचिन्छ सख्या नाच?
यो नाच मुख्यत:
- 
लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया 
- 
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर 
- 
कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तिहरूमा नाचिन्छ । 
सख्या गीत सबै ठाउँमा मिल्दोजुल्दो भए पनि, नाच्ने शैली भने गाउँअनुसार फरक–फरक हुन्छ ।
कहिलेसम्म नाचिन्छ?
सख्या नाचको सुरुवात भदौमा गरिने हाँया गुरै पूजाबाट हुन्छ र यो बडादसैं सकिएपछि झन्डै एक सातासम्म चल्छ। मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार, यो नाच एक महिना भन्दा बढी समयसम्म पनि चल्न सक्छ ।


 
                                    