काठमाण्डौ भदौ २३ – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेन जी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ।
बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, र गृहसचिव गोकर्णमणि दुवाडीले प्रदर्शनपछि उत्पन्न घटनाक्रमबारे छलफल गर्न बाहिरिने क्रममा बैठक स्थगित भएको हो।
बैठकमा नेपाल प्रहरी सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्ने विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल भइरहेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकारका प्रतिनिधि नभएको अवस्थामा विधेयकको छलफल अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गर्न आग्रह गर्नुभयो।
समितिका सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीले केही समयका लागि बाहिरिनु भएको जानकारी दिँदै बैठकलाई पुनः सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको थियो। तर सांसदहरू रामहरि खतिवडा, ज्ञानेन्द्र शाहीलगायतले प्रहरीसम्बन्धी विधेयकमा गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकको अनुपस्थितिमा छलफल अघि बढाउन नहुने मत राख्नुभएको थियो।
धेरै सांसदको प्रस्तावपछि सभापतिले बैठक स्थगित भएको घोषणा गर्नुभयो।
यसअघि बैठकमा सांसद मैना कार्की, प्रतिमा गौतम, अशोककुमार चौधरी लगायतले विधेयकमा दर्ता भएका ५२ संशोधन प्रस्ताव र ६४८ विषयमा आफ्नो धारणा राख्नुभएको थियो। विधेयकको प्रस्तावनामा मात्र २२ वटा संशोधन प्रस्ताव परेका छन्।