Monday, September 8, 2025
spot_imgspot_img
Homeसमाजइप्रका कोहलपुर हिरासतमा कुटपिट गरी हत्या गरिएको आरोप, प्रहरी भन्छ: ‘बिहान उठ्दा...

इप्रका कोहलपुर हिरासतमा कुटपिट गरी हत्या गरिएको आरोप, प्रहरी भन्छ: ‘बिहान उठ्दा बेहोस थिए विरेन्द्र’

नेपालगञ्ज भदौ २३ – इलाका प्रहरी कार्यालय (इप्रका) कोहलपुरमा ज्यानको आरोपमा सोधपुछका लागि राखिएका जानकी गाउँपालिका ६ का ३८ वर्षीय विरेन्द्र बहादुर सिंहको मृत्यु भएको छ।

उनलाई तीन दिनअघि ज्यान मार्ने आरोपमा सोधपुछका लागि हिरासतमा राखिएको थियो। तर मृतकका आफन्तले प्रहरी हिरासतमा कुटपिट गरि हत्या गरिएको आरोप लगाएका छन्।

मृतकका आफन्तले बताउनुभयो, “सामान्य मान्छेलाई हिरासतमा ल्याउने हो भने अचानक कसरी मृत्यु हुन्छ? आइतबार अस्पताल आउँदा उहाँले ‘यहाँ मलाई सुरक्षित लागेन, मलाई कुटपिट भयो, नेपालगञ्ज लैजाऔं’ भन्नुभएको थियो। उहाँका शरीरमा दायाँ हातको जोर्नी, टाउको र खुट्टामा कुटपिटका डाम देखिएका थिए।”

आफन्तले थपे, “अनुसन्धान गर्दा डाम देखाउने बेलामा उहाँले नेपालगञ्ज लैजानु पर्ने भने पनि प्रहरीले नमिल्ने बताएको थियो। तर आइतबार बिहान ‘तपाईको मान्छे बिरामी छ’ भन्दै इलाकाबाट पठाएको थियो। हामी अस्पताल आइपुग्दा उहाँको मृत्यु भइसकेको थियो।”

मृतककी बुहारी सुकुमाया सिंहले भनिन्, “प्रहरीले क्यान्टीनबाट खाना दिनुभएको थियो तर मेसको खाना नखुवाएको र कुटपिट गरेको आरोप लगाएका थिए। अनुसन्धानमा कठिनाइ हुने भन्दै प्रहरीले विषयलाई टार्न खोज्यो। आइतबार बिहान करिब ५ बजे ‘विरामि छन्’ भन्दै फोन आएपछि हामी अस्पताल पुगेका थियौं, तर उहाँको मृत्यु भइसकेको थियो।”

घटनाको पृष्ठभूमि यसप्रकार छ कि भदौ १९ गते बिहान जानकी गाउँपालिका ६ स्थित बाटोमा २१ वर्षका मुकेस पार्सी मृत फेला परेका थिए। अनुसन्धान क्रममा चार जनालाई पक्राउ गरिएको थियो जसमा कालिकोटका मनरुप पाण्डे, जानकी ६ का कल्सीप पाण्डे, १३ वर्षकी बालिका र मृतक विरेन्द्र बहादुर सिंह रहेका छन्।

इलाका प्रहरी कार्यालयका सूचना अधिकारी हरी भट्टराईका अनुसार मृतक विरेन्द्रलाई पक्राउ गर्दा सामान्य अवस्था थियो र आइतबार बिहान बेहोस अवस्थामा भेटिएपछि परिवारलाई खबर गरिएको थियो। उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएको जानकारी दिइएको छ।

तर मृतकका परिवारले प्रहरीमाथि कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन् भने प्रहरीले ती आरोपलाई अस्वीकार गरेको छ।

प्रहरीले पत्रकारहरूलाई पनि इलाका प्रहरी कार्यालयमा प्रवेश गर्न नदिईसकेको छ भने मृतकको परिवारले शव बुझ्न पाएका छैनन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments