काठमाडौँ भदौ २७– राष्ट्रिय मानव अधिकार आयोगले हालको संकटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सरोकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गरिरहेको जनाएको छ । शुक्रबार जारी विज्ञप्तिमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलसहित सम्बन्धित सबै पक्षसँग नियमित सम्पर्कमा रहेको जानकारी दिएका छन् ।
“मानव अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानूनी शासनको आधारमा समस्याको समाधान खोजिनुपर्ने आवश्यकता हामीले राष्ट्रसमक्ष प्रस्तुत गरेका छाैँ,” विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले संवैधानिक मूल्यहरूको संरक्षण र मुलुकमा स्थायित्व कायम गर्न सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिएको छ ।