काठमाडौं भदौ २७ – नख्खु कारागार प्रशासनले भदौ २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा कारागारबाट फरार भएका सबै कैदीबन्दीलाई तुरुन्त आत्मसमर्पण गर्न अपिल गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फरार अवस्थाको निरन्तरताले भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ। साथै, कानूनले तोकेको सजाय अझ कडाइका साथ लागू गरिने उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, “विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनमा आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई अपिल गर्दछौँ ।
भदौ २४ गतेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित करिब १४ सय कैदीबन्दी नख्खु कारागारबाट बाहिरिएका थिए । तीमध्ये केहीलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा पूर्व राज्यमन्त्री सञ्जय टकला पनि छन् । कारागार प्रशासनले सबै फरार कैदीबन्दीलाई छिटोभन्दा छिटो कानूनी सम्पर्कमा आउन र आत्मसमर्पण गर्न पुनः आग्रह गरेको छ ।