काठमाडौं भदौ २८ – अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ। सम्भावित मन्त्रीहरूको नाम चर्चामा आए पनि अन्तिम टुङ्गो भने लागेको छैन। हाल सबै मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैंले सम्हाल्ने निर्णय लिनुभएको छ।
शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शीतल निवासमा शपथ गराउनुभएको थियो। उहाँले सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नुभयो। शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, उच्च सरकारी अधिकारीहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अघिल्ला वर्षहरूमा शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू तथा निवर्तमान प्रधानमन्त्रीको सक्रिय सहभागिता रहने गर्थ्यो, तर यस पटक त्यो देखिएन। समारोहमा पूर्वप्रधानमन्त्रीहरूमध्ये डा. बाबुराम भट्टराई मात्रै सहभागी हुनु भयो। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अनुपस्थित रहे। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठ भने कार्यक्रममा सहभागी हुनुभयो।
नयाँ मन्त्रिपरिषद् विस्तारसँगै सरकारले गति लिने अपेक्षा गरिएको छ।