Saturday, September 13, 2025
spot_imgspot_img
Homeराष्ट्रियआगजनी र तोडफोडबाट होटल क्षेत्रमा २५ अर्ब रुपैयाँ बराबरको क्षति, पर्यटन क्षेत्र...

आगजनी र तोडफोडबाट होटल क्षेत्रमा २५ अर्ब रुपैयाँ बराबरको क्षति, पर्यटन क्षेत्र प्रभावित

काठमाडौँ भदौ २८-  जेन–जीको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण होटल तथा पर्यटन क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

होटल सङ्घ नेपाल (HAN) ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार काठमाडौँ उपत्यका, पोखरा, भैरहवा, बुटवल, विराटनगर, झापा, धनगढी, तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित झन्डै दुई दर्जन होटल प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। काठमाडौँमा निर्माणाधीन पाँचतारे हिल्टन होटलमा मात्र ८ अर्बभन्दा बढीको क्षति भएको उल्लेख गरिएको छ ।

पर्यटन उद्योग फेरि संकटमा

यस्तो घटनाले नेपालको पर्यटन क्षेत्रमा पुनः एकपटक ठूलो धक्का पुर्‍याएको छ। ऐतिहासिक सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान बोकेको नेपालमा पर्यटन उद्योग भूकम्प, नाकाबन्दी र कोरोना महामारी पछि बल्लतल्ल लयमा फर्किंदै थियो। तर नयाँ अस्थिरताले व्यवसायीहरूलाई फेरि चिन्तित बनाएको छ । प्रदर्शनपछि विदेशी पर्यटकका केही बुकिङ रद्द भएका छन्, जुन आगामी पर्यटकीय सिजन सुरु हुनुअघि गम्भीर चुनौतीका रूपमा देखिएको छ ।

सुधारको आशा, प्रयास सुरु

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार, हाल नेपालमा झन्डै १५ हजार विदेशी पर्यटक छन् र स्थिति नियन्त्रणमा छ। बोर्डले होटल तथा पर्यटन क्षेत्रमा भएको क्षतिको समग्र मूल्याङ्कन गर्न अध्ययन सुरु गरिसकेको छ ।

बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ सेप्टेम्बर महिनामा करिब २५,५०० पर्यटकले नेपाल भ्रमण गरेका थिए । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले पर्यटन पुनरुत्थानका लागि सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सकारात्मक सन्देश प्रवाह गरी विश्वास र भरोसा कायम गर्नुपर्ने बताए ।

प्यासिफिक एशिया ट्राभल एसोसिएसन (PATA) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले पनि पर्यटन क्षेत्रमा नकारात्मक असर परे तापनि चाँडै सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (TAAN) ले संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन सहमति, सहकार्य र सक्रिय प्रयास आवश्यक भएको बताएका छन् । यस विषम परिस्थितीलाई अवसरमा बदल्दै, नेपालले फेरि एकपटक आफ्नो पर्यटन उद्योगलाई पुनर्जीवित गर्न सक्ने विश्वास गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments