Tuesday, September 16, 2025
spot_imgspot_img
Homeसमाज२८५ कैदीबन्दी अझै सम्पर्कविहीन

२८५ कैदीबन्दी अझै सम्पर्कविहीन

नेपालगन्ज भदौ ३०- बाँके जिल्लामा रहेका दुई सुधारगृह र एक कारागारबाट भागेका ३४० जना कैदीबन्दीमध्ये २८५ जना अझै सम्पर्कविहीन छन्। हालसम्म ५७ जनालाई मात्र नियन्त्रणमा लिन सकिएको प्रहरी प्रशासनले जनाएको छ।

जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधारगृह, बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट विभिन्न समयमा कैदीबन्दी भागेका थिए।
प्रहरीले उनीहरूको खोजी जारी राखेको भए पनि अधिकांशको अत्तोपत्तो लाग्न सकेको छैन।

डुडुवाको जयन्दु बाल सुधारगृहका प्रमुख किशोर शर्माका अनुसार सो सुधारगृहमा रहेका २२८ जना बालबन्दीमध्ये ११५ जना भागेका थिए। तीमध्ये २३ जना मात्र फेला परेका छन् भने ९२ जना अझै फरार छन्।
“केहीलाई विभिन्न स्थानबाट पक्राउ गरियो भने केही आफैं फर्किएका हुन्,” प्रमुख शर्माले जानकारी दिनुभयो।

त्यस्तै, नौबस्ता बाल सुधारगृहबाट ७८ जना बालबन्दी भागेका थिए। सुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार भाग्ने क्रममा प्रहरीसँगको झडप हुँदा पाँच जनाको मृत्यु भएको थियो। बाँकीमध्ये १७ जना पक्राउ परेका छन् भने ६१ जना अझै फरार रहेका छन्।

यसैगरी, नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १४७ जना कैदीमध्ये १७ जनालाई समातिएको छ भने १३० जनाको खोजी कार्य जारी रहेको कारागार प्रमुख जालन्धर भुषालले जानकारी दिनुभयो। घटनाका बेला सो कारागारमा ५८५ जना कैदी थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अझै सम्पर्कमा नरहेका २८५ जना फरार कैदीबन्दीमध्ये केही भारततर्फ भागेको आशंका गरिएको छ।
“हामी सबै निकायको समन्वयमा खोजी कार्य तीव्र पारिरहेका छौं,” एक प्रहरी अधिकृतले भने, “तर सीमावर्ती क्षेत्रहरूमा खोजी गर्न कठिनाइ भइरहेको छ।”

जेनेजी आन्दोलनका क्रममा देशभरका विभिन्न सुधारगृह र कारागारबाट थुप्रै बन्दीहरू भागेका थिए। बाँकेको घटनालाई भने सुरक्षाको दृष्टिकोणले अत्यन्त गम्भीर रूपमा लिइएको छ।

सुरक्षा निकायले बाँकी फरार कैदीबन्दीको खोजी तीव्र पारिएको जनाएको छ भने राज्यको सम्पत्ति र सर्वसाधारणको सुरक्षाका लागि थप सतर्कता अपनाइएको जानकारी दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments