काठमाडौँ, भदौ ३० –प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा हालै नियुक्त भएका अर्थ, ऊर्जा, र गृह मन्त्रालयका नवनियुक्त मन्त्रीहरूले सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, र गृह तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ ।
पूर्वाधार र अनुभवसहितका अनुहार
रामेश्वर खनाल, जो यसअघि अर्थसचिव रहनुभएको थियो, लामो समयदेखि आर्थिक प्रशासन र नीतिनिर्माणमा सक्रिय रहनुभएको छ। तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभेद भएपछि उहाँले सचिव पदबाट राजीनामा दिनुभएको थियो।
उहाँ अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सिफारिस आयोगको अध्यक्ष पनि हुनुहुन्थ्यो, जसले केही समयअघि सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।
इञ्जिनियर कुलमान घिसिङलाई ऊर्जा क्षेत्रका सफल पात्रका रूपमा लिइन्छ। लोडशेडिङ अन्त्य गर्नुभएको योगदानका कारण उहाँ निकै लोकप्रिय बन्नुभएको थियो। केही महिनाअघि ओली नेतृत्वको सरकारले उहाँलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो। अब उहाँलाई मन्त्रीको जिम्मेवारी दिइएको छ।
ओमप्रकाश अर्याल- कानून व्यवसायी हुनुहुन्छ, विगतमा भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय रहनुभएको थियो। काठमाडौँ महानगरपालिकाका कानुनी सल्लाहकारको रूपमा पनि उहाँले काम गरिसक्नुभएको छ। अब उहाँलाई गृह र कानून मन्त्रालयको नेतृत्व दिइएको छ।
शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।


