काठमाडौं भदौ ३०- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै बजेट कार्यान्वयन सुधारका लागि तीन सदस्यीय कार्यदल गठन गर्नुभएको छ।
पदभार ग्रहणलगत्तै आयोजित कार्यक्रममा मन्त्री खनालले अबदेखि पूर्वतयारी नभएका र आवधिक योजनामा नपरेका टुक्रे प्रकृतिका आयोजना कार्यान्वयन नगर्ने निर्णय सार्वजनिक गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “अब हरेक आयोजना पहिले प्राथमिकिकरणमा पर्छ कि पर्दैन भन्ने कुराको मूल्यांकन गरेर मात्र बजेट दिनेछौं। पूर्वतयारी नै नगरी ल्याइएका, राजनीतिक प्रभावमा पारिएका साना-साना आयोजना काटिने छन्।”
तीन सदस्यीय कार्यदल गठन
आयोजना छनोटलाई प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यसहित उहाँले बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्नुभएको छ। कार्यदलले हरेक आयोजनाको आवधिक योजना र प्राथमिकता सूचीमा परे/नपरेको यकिन गर्नेछ।
खर्चमा कडाइ, युवाका मागमा प्राथमिकता
अर्थमन्त्री खनालले बिनापूर्वतयारीका आयोजना कटौती गरेर युवाका माग र विकासका महत्वपूर्ण क्षेत्रलाई बजेट सर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “अब चुनाव पनि नजिक छ, युवाहरूका अपेक्षा पूरा गर्न पनि सरकार जिम्मेवार हुनैपर्छ,” उहाँको भनाइ थियो।
सुधार सुझाव कार्यान्वयनमा जोड
खनालले अघिल्लो सरकारकालमा आफूले नेतृत्व गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदनमार्फत दिएको सिफारिसहरू अब कार्यान्वयनको चरणमा लैजाने प्रतिबद्धता पनि जनाउनुभयो ।
उहाँले भने, “सुधार सुझावहरू फाइलमा मात्र सीमित हुने होइन, नीति र कार्यक्रममार्फत लागू गरेर परिणाम देखाउने मेरो लक्ष्य छ ।