नेपालगन्ज असोज १०- दसैँ, तिहारजस्ता ठूला चाडपर्वहरूमा भारतबाट नेपाल फर्कने यात्रुहरूको चाप अत्यधिक हुने भएकाले बाँके जिल्लामा तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले विशेष ट्राफिक व्यवस्थापन योजनाअन्तर्गत जमुनाहा नाका, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो।
ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार, भारतबाट फर्किने नेपालीहरूलाई आवतजावतमा सहजता र सुरक्षाको अनुभव दिलाउन सहायता कक्षले महत्वपूर्ण भूमिका खेल्नेछ।
“भारतबाट फर्किने यात्रुहरूलाई रिक्सा चालकदेखि होटल व्यवसायीसमेतले ठग्ने वा दु:ख दिने गरेको गुनासोहरू आइरहेका छन्,” प्रहरी निरीक्षक पन्तले भने, “यस्ता समस्या समाधान गर्न र यात्रुलाई मार्गदर्शन गर्न हामीले सहायता कक्ष सञ्चालन गरेका हौं।”
प्रहरीका अनुसार, चाडपर्वको समयमा बसपार्कहरूमा अत्यधिक भीडभाड हुने भएकाले यात्रुहरू ठगी, लुटपाट वा असहज परिस्थितिमा पर्न सक्ने सम्भावना बढी हुन्छ। त्यसलाई ध्यानमा राख्दै सहायता कक्षमार्फत निगरानी तथा आवश्यक सहयोग प्रदान गरिनेछ।
यस अतिरिक्त, ट्राफिक प्रहरीले मुख्य सडक, नाका र राजमार्गहरूमा थप जनशक्ति परिचालन गरेर गस्तीसमेत तीव्र बनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानहरूमा अस्थायी सहायता कक्ष स्थापना गरी सर्वसाधारण यात्रुहरूलाई आवश्यक सेवा तथा परामर्श उपलब्ध गराइरहेको जनाएको छ ।
प्रहरीका अनुसार, विगतका वर्षहरूमा चाडपर्वको बेला यात्रुहरूले गाडी पाउन समस्या, ठगी तथा लुटपाट जस्ता घटनाहरू भोग्दै आएकोले यसपटक पूर्वतयारीस्वरूप आपतकालीन चेकजाँच र सतर्कता गस्ती पनि तीव्र पारिएको छ।


