बाँके । बैजनाथ गाउँपालिका शिक्षा शाखाले शुक्रबार आकस्मिक रूपमा सामुदायिक विद्यालयको अनुगमन गर्दा शिक्षक अनुपस्थित र विद्यालयको सरसफाइ कमजोर रहेको पाइएको छ।
गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाल, तथा स्थानीय सञ्चारकर्मीहरूको टोलीले बैजनाथ–८, हसनापुरस्थित भगवती माध्यमिक विद्यालय मा पुगेर अनुगमन गरेको थियो।
अनुगमनका क्रममा विद्यालयमा रहेका १२ जना शिक्षकमध्ये प्रधानाध्यापकसहित ४ जना शिक्षक अनुपस्थित रहेको पाइएको हो। शिक्षकहरूले कुनै जानकारी बिना बिदा बसेको र विद्यालयका केही कर्मचारीले हाजिरी समेत नगरेको पाइएको शिक्षा शाखाले जनाएको छ।
उपाध्यक्ष रोकायले यस्तो लापरवाहीपूर्ण कार्यले विद्यार्थीको भविष्यमा नकारात्मक असर पर्ने भन्दै शिक्षक र कर्मचारीहरूलाई चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “शैक्षिक सुधार एकल प्रयासले सम्भव हुँदैन, यसको लागि शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सबैको साझा जिम्मेवारी रहन्छ।”
शिक्षा प्रमुख ढकालले विद्यालयमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष रूपमा गुनासो संकलन गरिएको जानकारी दिनुभयो। विद्यार्थीहरूसँग शिक्षकहरूको अध्यापन अवस्था र कक्षा व्यवस्थापनबारे जानकारी लिएर त्यसको आधारमा सुधार योजना अघि बढाइने उहाँको भनाइ थियो।
अनुगमन टोलीले विद्यालयको व्यवस्थापन समितिको म्याद सकिए पनि पुनःगठन नभएको र विद्यालय प्रशासनले आवश्यक सुधारका कदम नचालेको पाएको छ। विद्यार्थीहरूले पनि विद्यालयमा अनुशासन र पठनपाठनमा सुधार नआएको गुनासो गरेका थिए।
शिक्षा प्रमुख ढकालले भने, “आगामी दिनमा शिक्षक र कर्मचारीहरूले जिम्मेवारीपूर्वक आफ्नो काम नगरे नियम अनुसार कडा कारबाही गरिनेछ।”

बैजनाथ गाउँपालिकाले यस्ता अनुगमनलाई निरन्तरता दिँदै गाउँपालिकाभरका विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार अभियान संचालन गर्ने तयारी गरेको जनाएको छ।


