नेपालगन्ज कात्तिक २२ — बाँके जिल्ला प्रशासन कार्यालयमा दुई महिनापछि राहदानी वितरण सेवा पुनः सुरु गरिएको छ। जनेजी आन्दोलनका क्रममा गत भदौ २४ गते कार्यालयमा भएको आगजनीपछि राहदानी शाखा पूर्ण रूपमा ध्वस्त भएपछि सेवा रोकिएको थियो।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, आगजनीबाट क्षतिग्रस्त राहदानी शाखाको मर्मत सम्भार कार्य सम्पन्न गरी नयाँ उपकरणहरू जडानपछि शुक्रबारदेखि राहदानी वितरण प्रक्रिया पुनः सुरु गरिएको हो।
उहाँले भने, “जिल्ला प्रशासनबाट प्रदान गरिने नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण सेवा पहिले नै सुरु भइसकेको थियो। अब राहदानी वितरण पनि नियमित रूपमा सञ्चालनमा आएको छ।”
गत भदौमा भएको आगजनीले कार्यालयको भवन, भौतिक सामग्री र महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएपछि केही समयका लागि प्रशासनिक सेवा पूर्ण रूपमा ठप्प भएको थियो। अहिले भने राहदानीसहित अन्य सेवाहरू क्रमशः सञ्चालनमा ल्याइँदै छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार राहदानी वितरण नियमित रूपमा सुरु भएसँगै दैनिक रूपमा सयौँ सर्वसाधारणले सेवा लिन थालेका छन्।
त्यसैगरी, जनेजी आन्दोलनका कारण अवरुद्ध भएका अन्य कार्यालयहरूमध्ये जिल्ला अदालत र उच्च अदालत नेपालगन्जले केही दिनअघि मात्र सेवा सुचारु गरेका छन्। यातायात व्यवस्था कार्यालय बाँकेले पनि सेवा सञ्चालनमा ल्याएको छ भने मालपोत कार्यालयले भने अझै सेवा सुरु गर्न सकेको छैन।
राहदानी सेवा पुनः सुरु भएपछि लामो समयदेखि राहदानी पर्खिरहेका स्थानीयवासीले राहत महसुस गरेका छन्।


