Sunday, December 7, 2025
spot_imgspot_img

नेपालगञ्ज, कार्तिक २२ — बिद्युत व्यवसायी संघ बाँकेको ११औं साधारण सभा तथा सातौं अधिवेशन शनिबार नेपालगञ्जमा उत्साहपूर्वक सम्पन्न भएको छ । अधिवेशनले तेज प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गर्दै आगामी कार्यकालका लागि नेतृत्व सुम्पिएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा नेपाल विद्युत व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शिवराम रिजाल, लुम्बिनी प्रदेश अध्यक्ष लोकनाथ पौडेल, विभिन्न जिल्ला शाखाका प्रतिनिधि, उद्योगी, व्यवसायी र विद्युत क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा संघको विगतका गतिविधि, उपलब्धि, समस्या र आगामी योजनाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

पूर्वअध्यक्ष बिष्णु प्रसाद पौडेलले आफ्नो कार्यकालमा विद्युत व्यवसायलाई व्यवस्थित र उत्तरदायी बनाउन गरिएको प्रयासका क्रममा साथ दिने सम्पूर्ण सदस्य र सरोकारवालाप्रति आभार प्रकट गर्नुभयो । उहाँले संघले विद्युत व्यवसायीहरूको पहिचान सुदृढ गर्दै उनीहरूका हकहितका सवालमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो ।

निर्वाचन समितिका संयोजक जनक बहादुर खड्काले अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र संयमित रूपमा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार सबै पदमा सर्वसम्मत सहमति बनेपछि नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको हो।

उक्त अधिवेशनबाट अध्यक्षमा तेज प्रसाद अधिकारी, उपाध्यक्ष – रामप्रसाद पौडेल, सचिव – बिष्णु प्रसाद सुवेदी, सह–सचिव – दीपक कुमार के।सी, कोषाध्यक्ष – ईश्वर माया योगी, साथै बाल बहादुर के।सी, शशिकान्त ज्ञवाली, नन्द बहादुर राना, गगनप्रसाद पौडेल, कृष्णप्रसाद शर्मा र प्रेमकुमार लामिछाने सदस्यका रूपमा चयन भएका छन् ।

पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष तेज अधिकारीले संघलाई अझ सशक्त, सक्षम र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्युत व्यवसायीहरूलाई व्यवस्थित गर्न, व्यवसायिक सुरक्षाको सुनिश्चितता गर्न र नीतिगत सुधारका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग निरन्तर समन्वय गर्ने योजना प्रस्तुत गर्दै “विद्युत व्यवसाय केवल व्यापारिक काम होइन, यो सेवा र जिम्मेवारी पनि हो। हामीले सुरक्षासहित गुणस्तरीय विद्युत आपूर्तिमा सहयोग पुर्‍याउने र व्यवसायीहरूका समस्या सम्बोधन गर्न प्राथमिकता दिनेछौँ।”

उहाँले संघको नेतृत्वलाई समावेशी, पारदर्शी र परिणाममुखी बनाउँदै बाँके जिल्लामा विद्युत व्यवसायको विश्वसनीयता बढाउने उद्देश्य लिएको बताउनुभयो ।

नवनिर्वाचित कार्यसमितिले विद्युत व्यवसायीहरूको हकहित र व्यावसायिक मर्यादाको रक्षा गर्नका लागि स्थायी नीतिगत संरचना निर्माण गर्ने, तालिम तथा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, विद्युत सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिने र सरकारी निकायसँग सहकार्य बढाउने योजना अघि सारेको छ ।

संघले बाँके जिल्ला तथा लुम्बिनी प्रदेशभरका विद्युत व्यवसायीहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान र प्रविधिक एकरूपता ल्याउनेतर्फ पनि काम गर्ने जनाएको छ। साथै, अवैध विद्युत प्रयोग नियन्त्रण, गुणस्तरीय मापदण्ड पालन र उपभोक्ता सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

विद्युत व्यवसायी संघ बाँके विद्युत सामग्री आपूर्तिकर्ता, ठेकेदार, प्राविधिक तथा व्यवसायीहरूको साझा संगठनका रूपमा विगत एक दशकदेखि सक्रिय रहँदै आएको छ। संघले विद्युत सुरक्षा, व्यवसायिक दर्ता र नियमनका विषयमा निरन्तर काम गर्दै आएको छ ।

संघका तत्कालीन अध्यक्ष बिष्णु पौडेलका अनुसार, पछिल्ला वर्षमा संघले विद्युत व्यवसायीहरूको कर, लाइसेन्स, प्राविधिक मापदण्ड र बजार नियमनका विषयमा उल्लेखनीय पहल गरेको थियो । नयाँ कार्यसमितिबाट ती कामहरूलाई अझ व्यवस्थित र दिगो रूपमा अघि बढाइने अपेक्षा गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष तेज अधिकारीको नेतृत्वमा गठन भएको कार्यसमितिले विद्युत व्यवसायीहरूको आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्दै, बाँकेमा व्यवसायिक वातावरणलाई सुदृढ बनाउने लक्ष्य लिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments