बाँके । नेकपा (एमाले) बैजनाथ गाउँ कमिटीले सोमबार गडरहीचोकदेखि सम्झना बजारसम्म पंन्चैबाजा सहित नारा जुलुस निकाल्दै शक्ति प्रदर्शन गरेको छ। देशभरै चलाइएको “युवाशक्ति प्रदर्शन दिवस” अन्तर्गत बैजनाथमा पनि कार्यक्रम सम्पन्न भएको हो।
गाउँ कमिटी अध्यक्ष मन बहादुर खत्रीको संयोजकत्वमा भएको कार्यक्रम सम्झना बजारमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बैजनाथ गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं एमाले नेता दल बहादुर सुनारले आफू “केपी ओलीको झोले र एमालेको झोले” भएको उल्लेख गर्दै पार्टीप्रतिको निष्ठा दोहोर्याए। तर, उनका भाषणप्रति कार्यकर्ताहरूको चासो घटेको देखिएको थियो।

सुनारको भाषण सुन्न आएका धेरै कार्यकर्ताहरू बीचमै तितरबितर भएको दृश्य देखिएको थियो। विश्लेषकहरूका अनुसार नयाँ पुस्ता अब भाषणभन्दा कामलाई प्राथमिकता दिन थालेको देखिन्छ।
कार्यक्रम एमाले संगठन सुदृढीकरण र युवालाई पार्टीप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको गाउँ कमिटीले जनाएको छ।


