Friday, March 6, 2026
spot_imgspot_img
Homeसमाजबाँकेका विद्यालयमा विद्युतीय सुरक्षा सचेतना अभियान सुरु हुँदै

बाँकेका विद्यालयमा विद्युतीय सुरक्षा सचेतना अभियान सुरु हुँदै

नेपालगन्ज कात्तिक २७  – ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्युतीय दुर्घटनाबारे जनचेतना अभिवृद्धि गर्न नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले “विद्युतीय सुरक्षा सचेतना अभियान” सुरु गर्ने भएको छ। गाउँघरमा विद्युत् प्रयोगका क्रममा अज्ञानता र असावधानीका कारण बढ्दै गएका दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले मङ्सिर ७ गतेदेखि विद्यालयस्तरमा कार्यक्रम थालनी गरिने वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिनुभयो।

उहाँका अनुसार, पर्याप्त ज्ञानको अभावले विद्युतजन्य दुर्घटना हुने गरेको पृष्ठभूमिमा विद्यालयमै सञ्चालन हुने यस कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दालाई विद्युत् प्रयोगका सम्भावित जोखिम र त्यसबाट जोगिने उपायबारे जानकारी दिनेछ।

नेपाल विद्युत् प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रको आयोजनामा बाँकेका सबै आठवटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ। यसका लागि विद्यालयहरूलाई वितरण केन्द्रसँग समन्वय गरी सहभागी हुन अनुरोध गरिएको लेखा अधिकृत बुद्धिसागर भुषालले बताउनुभयो।

कार्यक्रममार्फत सहभागीहरूलाई विद्युतीय सुरक्षा, सम्भावित जोखिमका कारण, दुर्घटनापछि गर्नुपर्ने प्राथमिक उपचार, उपकरणको सुरक्षित प्रयोग तथा ऊर्जा खपत घटाउने उपायहरूबारे व्यावहारिक प्रशिक्षण दिइनेछ।

नो–लाइट शाखाका प्रमुख विष्णु खत्रीका अनुसार, ग्रामीण क्षेत्रमा यस्ता सचेतनामूलक कार्यक्रमहरू अत्यन्तै सीमित हुने गरेकाले यो अभियानले विद्युत् दुर्घटना घटाउने मात्र होइन, चुहावट नियन्त्रण र ऊर्जाको सुरक्षित प्रयोगमा पनि योगदान पुर्‍याउनेछ।

नेपालगन्ज वितरण केन्द्रले निकट भविष्यमा नरैनापुरमा सबस्टेशन निर्माण र जानकी गाउँपालिकामा १३२ केभीए प्रसारण लाइन विस्तार भइरहेको जानकारी दिँदै बाँकेका विद्यालयहरूमा यस्ता सचेतना कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाएको छ।

विद्युतीय सचेतनाको कमीका कारण विगतमा बाँकेका ग्रामीण क्षेत्रमा विभिन्न प्रकारका विद्युत् सम्बन्धी दुर्घटनाहरू हुने गरेका छन्। प्राधिकरणले आशा व्यक्त गरेको छ कि यो अभियानले ती घटनामा उल्लेख्य कमी ल्याउनेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments