Tuesday, November 18, 2025
spot_imgspot_img
Homeसमाजनिर्वाचन नजिकिँदै बाँकेका मतदान केन्द्रमा सुरक्षा निकायको स्थलगत अनुगमन सुरु

निर्वाचन नजिकिँदै बाँकेका मतदान केन्द्रमा सुरक्षा निकायको स्थलगत अनुगमन सुरु

नेपालगन्ज, मंसिर १- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बाँके जिल्लामा सुरक्षा अधिकारीहरूले मतदानस्थल तथा मतदान केन्द्रहरूको स्थलगत अनुगमन तीव्र पारेका छन्। निर्वाचनअघि सुरक्षा मूल्यांकन गर्न जिल्ला प्रशासनले समन्वयमा व्यापक अनुगमन कार्य प्रारम्भ गरेको हो।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार जिल्लाभरका मतदानस्थल र केन्द्रको सुरक्षा स्थिति, पूर्वाधार र आवश्यक जनशक्ति व्यवस्थापनका लागि स्थलमै पुगेर अवस्थाको अध्ययन भइरहेको छ। उहाँले निर्वाचनमा शान्ति–सुरक्षा प्रमुख प्राथमिकता भएकाले कुनै त्रुटि हुन नदिन प्रत्यक्ष रूपमा अनुगमन गरिएको बताए।

तामाङका अनुसार हालसम्म नरैनापुर, राप्ती सोनारी, खजुरा र डुडुवा गाउँपालिकाका विभिन्न केन्द्रहरूको निरिक्षण भइसकेको छ र यो क्रम निरन्तर जारी रहनेछ। मतदानस्थलको अवस्था तथा संवेदनशीलताको विस्तृत मूल्यांकन गरेर प्रतिवेदन तयार पार्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विशेष कार्यदल समेत गठन गरिएको छ।

उता, प्रहरी प्रमुख एसपी अंगुर जिसीले पनि जिल्लाका सबै सुरक्षा प्रमुखहरू फिल्डमै गएर केन्द्रहरूको संवेदनशीलता वर्गीकरण गरिरहेको जानकारी दिए। उनले अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र छुट्याएर त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरिने बताए।

अनुगमन टोलीमा प्रजिअ तामाङ, प्रहरी प्रमुख जिसी, राष्ट्रिय अनुसन्धानका प्रमुख हरिस बिष्ट र सशस्त्र प्रहरी बागेश्वरी गणका एसपी शोभाकान्त खनाल रहेको जनाइएको छ। निर्वाचन आयोगका अनुसार बाँकेमा कुल १३८ मतदानस्थल र ३८० मतदान केन्द्र निर्धारण गरिएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments