नेपालगन्ज मङ्सिर २ – उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाट काण्डमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा एक उच्छृंखल समूहले गरेको उक्त आक्रमणबाट अदालतमा ठूलो क्षति पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अदालतमा दर्ता भएको अपराधिक उपद्रवसम्बन्धी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएकाे थियो। सोही क्रममा नेपालगन्जका विभिन्न स्थानबाट ६ जना व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको हो।
सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीकाे भनाइअनुसार पक्राउ परेकामा नेपालगन्ज–४ का रवि कुमार वैश्य, वडा १० का बल्लु गोडिया, वडा ९ का गंगा सागर वर्मा, वडा ५ का मोहम्मद ताहिर हलवाई, वडा ४ का एशन राज सिद्दीकी र वडा ९ का ओमराज सोनी रहेका छन्।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यसअघि पनि नेपालगन्जका विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड प्रकरणमा चार जनालाई पक्राउ गरी कारबाही अगाडि बढाइएको थियो। जेनजी आन्दोलनको मुख्य दिन भदौ २३ गते कुनै अप्रिय घटना नभए पनि भदौ २४ गते एक उच्छृंखल समूहले नेपालगन्ज र कोहलपुरका करिब चार दर्जनभन्दा बढी सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो।


