नेपालगन्ज मङ्सिर ३ – खजुरा गाउँपालिकाले सम्झौताअनुसार काम सम्पन्न नगर्ने बर्दियास्थित अमन कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। चार वर्षअघि पाँच वटा योजना निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म कुनै पनि काममा उल्लेखनीय प्रगति नदेखिएकाले कारबाहीका लागि तयारी थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए।
गाउँपालिकाले पटक–पटक ताकेता गर्दै सार्वजनिक सूचना जारी गरे पनि कम्पनीका प्रतिनिधि सम्पर्कविहीन बनेपछि कारबाहीको आवश्यकता रहेको बताइएको छ। ठेक्काअन्तर्गत गरिनुपर्ने सडक तथा नाली निर्माण, बाटो स्तरउन्नति र कालोपत्रे जस्ता महत्वपूर्ण योजनाहरू वर्षौंदेखि अलपत्र परेका छन्।
सार्वजनिक खरिद ऐनअनुसार सम्झौताअनुसार काम नगर्ने तथा सम्पर्कविहीन ठेकेदारलाई कालोसूचीमा राख्ने प्रावधान भएकाले अमन कन्स्ट्रक्सनविरुद्ध सिफारिस गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। कालोसूचीमा परेपछि कम्पनीले भविष्यमा कुनै पनि नयाँ ठेक्का लिन नपाउने उद्योगी व्यवस्था छ।
यसअघि गाउँपालिकाको ताकेतापछि केही ठेकेदार सम्पर्कमा आएर कार्य सुरु गरेका भए पनि अमन कन्स्ट्रक्सन पुनः बेपत्ता भएको गाउँपालिकाले जनाएको छ। कम्पनीका प्रतिनिधिहरूसँग सम्पर्क हुन नसक्दा स्थानीयवासी वर्षौंसम्म अलपत्र योजनाबाट सास्ती खेपिरहेका छन्।


