नेपालगन्ज, मङ्सिर ३ – दाङ र यसको दुई इलाका प्रशासन कार्यालयहरूले कात्तिक महिनाभरमा नागरिकता, ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्रलगायत गरी १२ हजार ४२९ सेवाहरू प्रदान गरेका छन्। जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर तथा लमहीबाट विभिन्न प्रकारका सिफारिस, दर्ता तथा वितरण सेवा सहज र छिटो रूपमा प्रवाह भएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए।
एक महिनामा जिल्लाबाट १ हजार ८०६ नागरिकता तथा ६१७ ई–पासपोर्ट वितरण गरिएको छ। राष्ट्रिय परिचयपत्र दर्ता गर्नेको संख्या पाँच हजार ४३६ पुगेको छ भने ई–पासपोर्ट आवेदनका लागि १ हजार ५४८ जनाले नाम दर्ता गराएका छन्।
घोराही, तुलसीपुर र लमही—तीनै स्थानबाट नागरिकता, पासपोर्ट र परिचयपत्र दर्ता नियमित रूपमा भइरहेको प्रशासनले जनाएको छ।
नागरिकलाई छिटो र सहज सेवा उपलब्ध गराउन पूर्वी क्षेत्रमा लमही, पश्चिमतर्फ तुलसीपुर र केन्द्रमा घोराहीमार्फत सेवा वितरणलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।


