भारत- भारतको बिहारमा नयाँ सरकार गठन प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू हुँदैछ। दिउँसोपख बस्ने जनता दल युनाइटेड (जेडीयू) विधायक दलको बैठकले नीतीश कुमारलाई दलको नेता पुनः चयन गर्ने तयारी गरेको बीबीसीले उल्लेख गरेको छ। नेता चयन भएपछि बेलुकी नै राज्यपालसमक्ष सरकार गठनको दाबी प्रस्तुत गरिने जनाइएको छ।
नयाँ सरकारको शपथ ग्रहण समारोह भोलि बिहान स्थानीय समयअनुसार ११:३० बजे पटनास्थित गान्धी मैदानमा आयोजना हुनेछ। कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित एनडीए गठबन्धनअन्तर्गत विभिन्न राज्यका मुख्यमन्त्रीहरूको उपस्थिति रहनेछ।
हालै सम्पन्न बिहार विधानसभा चुनावमा दुई चरणमा मतदान भएको थियो। कुल २४३ सिट मध्ये सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुई तिहाइ बहुमत प्राप्त गर्दै २०२ सिट जित्यो। भाजपाले ८९ र जेडीयूले ८५ सिट ल्याए।
कांग्रेस नेतृत्वको महागठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी) ३५ सिटमा सीमित भए। अन्य दलहरूले ६ सिट जिते। यसपटक ६७.३% मत खसेको थियो, जुन सन् १९५१ पछिकै सबैभन्दा धेरै मतदाता उपस्थितिको दर हो।


