काठ्माण्डौं मङ्सिर ३ – प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्वाचन आयोगमा दर्ता रहेका सबै दलहरूलाई बैठकमा सहभागी हुन निमन्त्रणा गरिएको छ।
वर्तमान सरकारका प्राथमिकता, अहिलेसम्म गरेका काम–कारबाही तथा आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा चुनावबारे दलहरूसँग विस्तृत छलफल गर्ने उद्देश्य बैठकको रहेको सरकारका स्रोतले जनाएको छ।
जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व सम्हालिरहनुभएकी कार्कीको मुख्य जिम्मेवारी निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु हो, र सोही तयारीका विषयमा दललाई जानकारी गराउने आजको बैठक महत्वपूर्ण रहेको बताइएको छ।


