Monday, December 8, 2025
spot_imgspot_img
Homeस्थानीयसमाजसेवाको अग्रस्थानमा परमेश्वरको मण्डली, कोहलपुरमा सफल रक्तदान कार्यक्रम

समाजसेवाको अग्रस्थानमा परमेश्वरको मण्डली, कोहलपुरमा सफल रक्तदान कार्यक्रम

कोहलपुर मंसिर ७- लुम्बिनी प्रदेशको बाँके जिल्ला, कोहलपुर—देशभर रगतको आवश्यकता बढिरहेको बेला, कोहलपुरमा आयोजित एक सामाजिक पहलले समुदायमा नयाँ ऊर्जा थपेको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आइतबार आयोजना गरेको १७५२औँ रक्तदान कार्यक्रममार्फत १६,४५० मिलिलिटर रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्दै जीवन–उद्धारका अभियानलाई थप प्रभावकारी बनाएको छ।

‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम’ नामक यो रक्तदान अभियानले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कोहलपुरस्थित मण्डली परिसरमा उत्साहपूर्ण वातावरण सिर्जना गर्‍यो। करिब १०० जना सदस्यहरूको उपस्थिति रहेको आयोजनामा स्वास्थ्य परीक्षण पूरा गरेपछि ४७ जनाले सुरक्षित रक्तदान गरे । चिकित्सकीय तथ्यांकअनुसार, १ यूनिट रगतले ३ जनाको जीवन बचाउन सकिने भएकाले, यस अभियानले करिब १४१ जनाको जीवनमा आशाको ज्योति बलाएको मण्डलीका पदाधिकारीहरू बताउँछन् ।

कार्यक्रमकी प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले रक्तदानलाई “मानव सेवामध्ये सर्वाधिक पवित्र कार्य” भन्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिन्। उनले भनिन्, “जसरी आमाबुबा किनेर पाइँदैन, त्यसरी नै रगत पनि किनेर पाइँदैन। रगतको आवश्यकता परेका व्यक्तिहरूलाई जीवन दिन सकिने यो कार्य प्रशंसनीय छ।”

रक्तदानका लागि आवश्यक स्वास्थ्यकर्मी र उपकरण उपलब्ध गराउँदै नेपाल रेडक्रस सोसाइटीले कार्यक्रमलाई प्राविधिक सहयोग पुर्‍याएको थियो। सबै प्रक्रिया सुव्यवस्थित ढंगले सम्पन्न भएको रेडक्रसका प्रतिनिधिहरूले जनाए।

विश्वव्यापी अभियानको हिस्सा

परमेश्वरको मण्डलीको रक्तदान अभियान नेपालमै सीमित छैन। संयुक्त राज्य अमेरिका, जर्मनी, मेक्सिको, ब्राजिल, भारत, फिलिपिन्स लगायत ६४ देशमा १,६७७ वटा रक्तदान कार्यक्रम सम्पन्न भइसकेका छन्, जहाँ ३,०९,०६९ जना सहभागी मध्ये १,३२,९२३ जनाले रगत दिइसकेका छन्। यसबाट ३ लाख ६६ हजारभन्दा बढी ज्यान बचाउन सकिएको मण्डलीको तथ्यांकले देखाउँछ।

सामाजिक सेवामा निरन्तर सक्रियता

नेपालमा परमेश्वरको मण्डलीले रक्तदान अभियानसँगै वातावरण संरक्षणदेखि समुदाय सेवासम्मका पहलहरू निरन्तर सञ्चालन गर्दै आएको छ। ‘आशाको वन’ अभियानमार्फत १,१५० वृक्षरोपण, काठमाडौँ, ललितपुर, भरतपुर र नेपालगञ्जमा सहर सरसफाइ कार्यक्रम, तथा ९५८ वटा सामाजिक सेवामा ५७,४३७ जनाको सहभागिता उल्लेखनीय छ। यस सेवाभावका कारण मण्डलीले विभिन्न स्थानीय तह र संस्थाबाट प्रशंसापत्र तथा सम्मान प्राप्त गरिरहेको छ।

निस्तार-चाडको आध्यात्मिक अर्थ

कार्यक्रमको नाममा समावेश ‘निस्तार-चाड (Passover)’ले बाइबलमा वर्णित ऐतिहासिक र आध्यात्मिक अर्थ बोकेको छ—‘विपत्ति पार हुन्छ’। ख्रीष्टले क्रूसमा चढ्नुअघि आफ्नै देह र रगतको प्रतीक स्वरूप रोटी र दाखमद्यद्वारा पाप–क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन नै निस्तार-चाड हो। यही प्रेम र बलिदानको भावनालाई समाजसेवामा रूपान्तरित गर्दै मण्डलीले सामाजिक अभियानलाई निरन्तरता दिएको बताइन्छ।

उल्लेख्य अन्तर्राष्ट्रिय मान्यता

हालसम्म मण्डलीले विश्वभर ४४,००० भन्दा बढी सामाजिक योगदान गतिविधि सञ्चालन गर्दै अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाको सम्मानसहित ५,४०० भन्दा बढी पुरस्कार प्राप्त गरिसकेको छ।

कोहलपुरमा सम्पन्न १७५२ औँ रक्तदान कार्यक्रमले रगत सङ्कलन मात्र गरेन, यो अभियानले समाजमा “मानवता नै सर्वश्रेष्ठ धर्म हो” भन्ने सन्देश पुनः उजागर गर्‍यो । जीवन–उद्धारको यो निरन्तर यात्रामा मण्डलीका विश्वासीहरूको समर्पण स्थानीय समुदायले उच्च रूपमा सराहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments