कोहलपुर मंसिर १२- संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन कोहलपुरले आयोजना गर्ने तेस्रो नगरस्तरीय रनिङशील्ड खेलकुद प्रतियोगिता–२०८२ मंसिर १७ गतेदेखि २० गतेसम्म कोहलपुरमा हुने भएको छ ।
प्रतियोगिताबारे जानकारी दिन कोहलपुरमा गरिएको पत्रकार सम्मेलनमा प्याब्सन कोहलपुरका अध्यक्ष रमेश खत्रीले खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान र विद्यालयहरूबीचको सम्बन्ध सुदृढ गर्न प्रतियोगिता निरन्तर सञ्चालन हुँदै आएको बताए ।
प्रमुख सल्लाहकार गोविन्द सुवेदीले प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै यस वर्षको तयारी पूर्ण रूपमा सकिएको जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा माध्यमिक, आधारभूत र आयु समूह (आ. वि.) गरी विभिन्न तहका खेलहरू सञ्चालन हुनेछन् ।
यस वर्ष माध्यमिक तहमा एथलेटिक्समा ५३२, भलिबलमा ३४२ र अन्य विविध प्रतियोगितामा ५६८ खेलाडी, आधारभूत तहमा एथलेटिक्समा ४४८ र फुटसलमा २५०, तथा आयु समूहमा ९२०० खेलाडीले सहभागी हुने अपेक्षा गरिएको छ । जम्मा १,८३४ जना खेलाडी प्रत्यक्ष रूपमा प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिता कोहलपुर नगरपालिका अन्तर्गत खुला मैदानमा सञ्चालन हुनेछ । उद्घाटन समारोह मंसिर १७ गते विशेष प्रस्तुति र सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा गर्ने तयारी रहेको छ।
प्याब्सन कोहलपुरले निरन्तर रूपमा विद्यालयगत खेलकुद गतिविधि प्रोत्साहन गर्दै आएको छ । यस वर्षको रनिङशील्ड प्रतियोगिताले पनि विद्यार्थीको प्रतिभा निखार्ने र भविष्यका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।


