गुल्मी मंसिर १६ – गुल्मी जिल्लाबाट गैरआवासीय नेपाली (एनआरएन) नागरिकता लिनेको संख्या ८० पुगेको छ। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार २०८० कात्तिक १९ गतेदेखि सुरु गरिएको एनआरएन नागरिकता वितरण प्रक्रियाअन्तर्गत हालसम्म ८० जनाले नागरिकता प्राप्त गरेका हुन्।
अघिल्ला आर्थिक वर्षहरूमा २०७९/८० मा १२ जना, २०८०/८१ मा ४८ जना, गत आर्थिक वर्षमा १८ जना र चालु आर्थिक वर्षको हालसम्म २ जना गरी कुल ८० जनाले गैरआवासीय नागरिकता लिएका प्रशासनले जनाएको छ।
आवश्यक कागजात पुरा गरेका प्रवासी नेपालीलाई सोही दिन नागरिकता प्रदान गर्ने व्यवस्था कार्यालयले अवलम्बन गर्दै आएको छ। तर प्रशासन कार्यालयमा जनशक्ति अपर्याप्त भएकाले एकैदिन धेरै सेवा–ग्राही आएमा सोही दिन नागरिकता दिन नसकिने सम्भावना रहेको अधिकारी गैरेले बताए।
गैरआवासीय नेपाली नागरिकता लिनका लागि सम्बन्धित वडाको सिफारिस, पुरानो नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी नागरिकता र त्यसको प्रमाण, सार्क राष्ट्रबाहेकका मुलुकमा बसोबास गरेको प्रमाण तथा हाल नागरिक रहेको देशको राहदानीको प्रतिलिपि आवश्यक पर्ने व्यवस्था छ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागू भएपछि एनआरएन नागरिकता प्रदान गर्ने प्रावधान सुरु भएको हो। यसअन्तर्गत गैरआवासीय नागरिकले राजनीतिक तथा प्रशासनिक अधिकार भने प्रयोग गर्न पाउने छैनन्। उनीहरूलाई भोट दिन, चुनाव लड्न वा राहदानी बनाउन नपाइने भए पनि नेपालमा सम्पत्ति राख्न तथा व्यापार–व्यवसायमा लगानी गर्न पाउने व्यवस्था छ।


