गुल्मी मंसिर १६ – देशकै नमुना तीनमुखे झोलुङ्गे पुल निर्माण सम्पन्न भएर तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म आधिकारिक रूपमा सम्बन्धित निकायलाई हस्तान्तरण हुन सकेको छैन। विसं २०७१ मंसिर १५ गते शिलान्यास गरिएको यो पुल निर्माण सम्पन्न भई सञ्चालनमा रहे पनि हस्तान्तरण प्रक्रिया भने रोकिएको छ।
गुल्मी, स्याङ्जा र पाल्पाको सङ्गमस्थल रिडी क्षेत्रको कालीगण्डकी नदीमा तीन जिल्लालाई जोड्ने उद्देश्यले झोलुङ्गे पुल बनाइएको हो। नयाँबाटो, रुबिना र मना जेभीले पुल निर्माणको जिम्मा पाएका थिए। २०७१ असार १० गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौतासहित करिब नौ करोड ८८ लाख रुपैयाँमा काम अघि बढाइएको थियो। सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले तीन पटक म्याद थपेर निर्माण सम्पन्न भएको जानकारी दिएको छ।
तर निर्माण व्यवसायीहरूमध्ये आन्तरिक विवाद चर्किनु र कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन रहनुले हस्तान्तरण प्रक्रिया थाती परेको कार्यालयका सूचना अधिकारी प्रेमनारायण बस्यालले बताए। विवाद समाधान नभएसम्म पुल हस्तान्तरण नहुने उनले स्पष्ट पारे। कार्यालयका अनुसार करिब ४० प्रतिशत भुक्तानी पनि अझै बाँकी छ।
तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट पुल उद्घाटन गर्ने तयारी भए पनि निर्वाचन आचारसंहिता लागु भएसँगै कार्यक्रम स्थगित भएको थियो।
पुल दीर्घकालीन रूपमा सञ्चालन र व्यवस्थापन गर्न तीन वटै जिल्लाका स्थानीय तहबीच समन्वय आवश्यक रहेको कार्यालयले जनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ (गुल्मी), कालीगण्डकी–१ कारीकोट (स्याङ्जा) र तानसेन नगरपालिका–१४ अर्गली (पाल्पा)लाई जोड्ने यो पुलको मुख्य पिल्लर १७७.४ मिटर लम्बाइमा तीनै जिल्लाको समान दूरीमा अवस्थित छ।
स्थानीय चूडामणि तिमिल्सिना भन्छन्, “नयाँ वर्ष, असारे ठूला एकादशी, हरिबोधिनी एकादशी र मकरसंक्रान्तिजस्ता विशेष अवसरमा पुल हेर्न र भिडियो बनाउन देशका विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन्।”
पुल हस्तान्तरण र व्यवस्थापन स्पष्ट नहुँदा यसको दीर्घकालीन सञ्चालनमा चुनौती देखिएको छ।


