नवलपरासी, मंसिर १६ – उखु उत्पादक किसानहरूले मंसिर १५ गतेदेखि सर्लाहीको हरिवनमा सुरु गर्ने भनिएको अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरोधको आन्दोलन स्थगित गरेका छन्। नेपाल उखु उत्पादक महासंघ र नेपाल सरकारबीच भएका उच्चस्तरीय वार्ताले सकारात्मक दिशा लिएको भन्दै आन्दोलन रोक्ने निर्णय गरिएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्रीको लिखित आग्रहपछि महासंघले आफूले घोषणा गरेको कडा आन्दोलनलाई तत्कालका लागि रोकेको हो । महासंघका प्रवक्ता तथा लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादवका अनुसार मन्त्रालयसँगको छलफलले निकास खोज्ने वातावरण बनेको विश्वासका कारण आन्दोलन दुई हप्ताका लागि स्थगित गरिएको छ। यससँगै राजमार्ग अवरुद्ध हुने स्थिति हटेको छ ।
किसानका मुख्य माग
१. बाँकी अनुदान रकम तत्काल भुक्तानी
गत वर्ष सरकारको तर्फबाट उखु किसानलाई प्रति क्वीन्टल ७० रुपैयाँ अनुदान दिने व्यवस्था थियो। तर महासंघका अनुसार सरकारले त्यसको आधा अर्थात् ३५ रुपैयाँ मात्र भुक्तानी गरेको छ। बाँकी ३५ रुपैयाँ तुरुन्तै भुक्तानी गर्नुपर्ने माग किसानहरूको छ ।
२. वैज्ञानिक समर्थन मूल्य तत्काल निर्धारण
विज्ञ समितिको सिफारिसअनुसार प्रति क्वीन्टल ७१० रुपैयाँ समर्थन मूल्य कायम गर्नुपर्ने माग किसानहरूले राख्दै आएका छन् ।
महासंघले सरकारले दुई हप्ताभित्र किसानको हितअनुसार मूल्य निर्धारण गर्ने अपेक्षा व्यक्त गरेको छ। अन्यथा, स्थगित आन्दोलन पुनः शुरु गर्न बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ।
महासंघले सबै उखु किसानलाई मूल्य निर्धारणसम्बन्धी विषयमा सजग रहन र आगामी निर्णयहरूका लागि तयार रहन आग्रह गरेको छ।


