अमेरिका- १२ वर्ष नपुग्दै बालबालिकालाई स्मार्टफोन उपलब्ध गराउनु उनीहरूको स्वास्थ्यका लागि हानिकारक हुने एक नयाँ अध्ययनले चेतावनी दिएको छ। चिकित्सा जर्नल पेडियाट्रिक्स मा प्रकाशित सो अध्ययनलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्स ले जनाएको अनुसार कम उमेरमै स्मार्टफोन प्रयोग सुरु गर्ने बालबालिकामा डिप्रेसन, मोटोपना र अपर्याप्त निद्राको जोखिम उल्लेख्य रूपमा बढ्ने देखिएको छ।
अध्ययनका लागि अमेरिकामा गरिएको बालमस्तिष्क सम्बन्धी दीर्घकालीन अनुसन्धानका क्रममा १० हजार ५०० भन्दा धेरै बालबालिकाको डेटा विश्लेषण गरिएको थियो। यसअघि पनि स्मार्टफोनले सामाजिक अन्तरक्रिया, शारीरिक गतिविधि र पर्याप्त निद्रा घटाउने देखाइएको थियो, तर यो अध्ययनले अझै व्यापक तथ्यांक पेश गरेको बताइएको छ।
अध्ययनमा संलग्न विज्ञहरूले भने, डिजिटल पहुँच आवश्यक भए पनि बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। उनीहरूको भनाइमा, कम्तीमा १२ वर्षपछि मात्र स्मार्टफोन दिनु स्वास्थ्यका लागि सुरक्षित उपाय हुन सक्छ।


