Monday, December 8, 2025
spot_imgspot_img
Homeसमाजकार्यालय स्थानान्तरणपछि बबई नदी संरक्षण अधुरै, स्थानीय पुनः उच्च जोखिममा

कार्यालय स्थानान्तरणपछि बबई नदी संरक्षण अधुरै, स्थानीय पुनः उच्च जोखिममा

बर्दिया मङ्सिर १६- बर्दियाको सदरमुकाम गुलरियालाई बाढीको जोखिमबाट जोगाउन थालिएको बबई नदी संरक्षण तथा व्यवस्थापन कार्य कार्यालय स्थानान्तरणसँगै अधुरै अवस्थामा रोकिएको छ। बबई–भादा–औरही नदी व्यवस्थापन कार्यालय बर्दियाबाट डडेलधुरा सारिएपछि नदी कटान रोकथाम, तटबन्ध निर्माणलगायत महत्वपूर्ण संरचनागत काम ठप्प हुँदा स्थानीयवासी पुनः पुरानै जोखिममा परेको गुनासो गर्न थालेका छन्।

गुलरिया हुँदै बग्ने बबई नदीले हरेक वर्ष दोहोरो क्षति गर्दै आएको छ। विशेषगरी २०७१ र २०७४ सालका विनाशकारी बाढीपछि नदी नियन्त्रणका लागि २०७४ मा विशेष कार्यालय स्थापना गरिएको थियो। तर आर्थिक वर्ष २०८२/८३ देखि कार्यालय डडेलधुरा सारिएपछि यहाँका बाँकी काम अनिश्चित बनेका छन्।

गुलरिया नगरपालिका–५ का वडाध्यक्ष मुमबहादुर मल्लका अनुसार सबैभन्दा जोखिमयुक्त क्षेत्रमा काम सुरु भइसकेको अवस्थामा कार्यालय हटाइनु स्थानीयमाथिको ठूलो अन्याय हो। तीन वर्षअघि बालापुरमा निर्माण व्यवसायीले सुरु गरेको काम पनि भुक्तानी नपाएपछि अधुरै छाडिएको छ। स्थानीय सोभेन्द्र चौधरी भन्छन्, “केही काम भयो, तर बीचमै रोकियो। अहिले त जोखिम झन् बढेको छ।”

सात वर्षमा करिब २२ किलोमिटर क्षेत्रमा नदी व्यवस्थापन कार्य सम्पन्न भए पनि अझै करिब ६ किलोमिटर क्षेत्रलाई तटबन्ध तथा सुरक्षात्मक संरचनाको आवश्यकता छ। कार्यालय नै हटाइएपछि बाँकी काम कहिले अघि बढ्छ भन्ने अन्योल स्थानीयस्तरमा बढेको छ।

हाल बबई नदी व्यवस्थापनको जिम्मेवारी राजापुरस्थित सिँचाइ तथा जलस्रोत आयोजना कार्यालयले सम्हालिरहेको छ। आयोजनाका प्रमुख सुदिन मोक्तानका अनुसार ठेकेदारलाई भुक्तानी नपाएका कारण उनीहरूले अधुरा काममा चासो देखाएका छैनन्। आवश्यक सहयोग र व्यवस्थापनको अभावले काम पुनः सुरु गर्न कठिनाइ परेको मोक्तानले बताए।

बबई नदीको बाढीले बारबर्दिया, ठाकुरबाबा, मधुवन र गुलरिया नगरपालिकालाई लगातार प्रभावित पार्दै आएको छ। विशेषगरी गुलरिया नगरपालिका–२, ४, ५, ६, ८, ९, १०, ११ र १२ नम्वर वडामा बाढी जोखिम उच्च छ। कार्यालय हटेको कारण जोखिम झनै बढेको भन्दै स्थानीयवासीले बाँकी काम तत्काल सुरु गर्न सरकारलाई स्पष्ट रणनीति बनाउन आग्रह गरेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments