कुशल दलामी
बाँके, कोहलपुर नगरपालिका–११ गोलपार्कस्थित श्रीमत्तारतम सागर एवं श्रीमद्व भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ भव्य रूपमा जारी छ। कथा बाचक साहित्याचार्य जनार्दन महाराज र उप–बाचक विदुषी उषा घिमिरेको सुमधुर वाणीले दैनिक रूपमा भक्तजनहरूलाई आध्यात्मिक वातावरणमा डुबाइरहेको छ। मंसिर १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महायज्ञमा नियमित रूपमा अमृतमय भागवत कथा श्रवण गरिँदै आएको आयोजकले जनाएको छ।
कार्यक्रमको तेस्रो दिन प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएका कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले व्यक्तिगत तथा संस्थागत रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभयो। धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रमहरूले समुदायलाई एकताको सूत्रमा बाँध्ने भएकाले उद्योग व्यवसायीहरूले पनि हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सनातन हिन्दू धर्मप्रति आस्था राख्ने सम्पूर्ण भक्तजनलाई नियमित रूपमा उपस्थित भएर कथा श्रवण गर्न आयोजक समितिले अनुरोध गरेको छ। श्री कृष्ण प्रणामी सेवा समिति नेपाल, श्री कृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालको सहकार्य र श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, जिल्ला कार्यसमिति बाँकेको आयोजनामा भइरहेको यो महायज्ञ स्थानीयस्तरमा धार्मिक चेतना र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण हुने तेजु भण्डारीले जानकारी दिनुभयो ।



