बैजनाथ–४, बाँके: समावेशी माध्यमिक विद्यालयले आफ्ना पूर्व विद्यार्थी सन्देश बुढालाई एमबिबीएस अध्ययनका लागि बुधबार भव्य सम्मान कार्यक्रम आयोजना गरेको छ।
बुधबार विहान साढे नौ बजे विद्यालय प्राङ्गणबाट अबिर, फूल र मालासहित र्याली सुरु गरिएको थियो। र्याली सन्देश बुढाको घर, मदन चोक, किरणनाल बजार र तिलकपुर गाउँ घुमेर पुनः विद्यालय प्राङ्गणमा पुगेर बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति (बि.ब्य.स) अध्यक्ष प्रेम बहादुर शाहिले मन्तव्य दिंदै सन्देश बुढाको सफलता सराहनीय भएको बताए। उनका अनुसार, मध्यम परिवारको विद्यार्थी भएर सामुदायिक विद्यालयबाट अध्ययन गर्दै चिकित्सा (एमबिबीएस) जस्तो महत्वपूर्ण क्षेत्रमा प्रवेश परीक्षा सफलता पूर्वक उत्तीर्ण गर्नु सिंगो बैजनाथका सामुदायिक विद्यालयको लागि गौरवको कुरा हो। उनले भने, “उनीको मेहनतले अरु विद्यार्थीहरूलाई पनि प्रेरित गरेको छ र विद्यालय परिवारले यस उपलब्धिलाई उच्च सम्मान दिएको छ। आगामी दिनहरूमा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न स्थानीय सरकारले भरपुर प्रयास गर्नेछ।”
विद्यालयले सन्देश बुढालाई सम्मान पत्र, खादा, माला र अबिर लगाएर सम्मान व्यक्त गरेको थियो।
कार्यक्रमबारे जानकारी दिँदै प्रधानाध्यापक भुल प्रसाद अधिकारीले बताए कि सन्देश बुढाको उच्च शिक्षा हासिल गर्ने प्रयासले अन्य विद्यार्थीहरूमा प्रेरणा थप्नेछ र यस किसिमका कार्यक्रमले विद्यार्थीहरूलाई मेहनत र शिक्षा हासिल गर्न उत्साहित गर्ने उद्देश्य राखेको छ।
शिक्षक र अभिभावकहरूले सन्देश बुढाको सफलतामा गर्व व्यक्त गर्दै यस्ता प्रेरणादायी कार्यक्रम निरन्तर विद्यालयमा सञ्चालन हुनुपर्नेमा जोड दिएको प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।



