नेपालगन्ज, मङ्सिर १९ – बाँके जिल्लामा एम्बुलेन्स सेवाबारे बढ्दो जनगुनासोपछि सेवालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन एम्बुलेन्सहरूको विस्तृत विवरण सङ्कलन अभियान सुरु गरिएको छ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको हालै सम्पन्न बैठकले जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सहरूको तथ्याङ्क दर्ता र अनुगमन गर्ने निर्णय गरेपछि सो कार्यलाई स्वास्थ्य कार्यालय बाँकेले औपचारिक रूपमा सुरु गरेको हो। समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङका अनुसार १५ दिनभित्र जिल्लाबाट अनुमति लिएर सञ्चालनमा रहेका सबै एम्बुलेन्सको विवरण अनिवार्य रूपमा संकलन गरिनेछ।
सीडीओ तामाङले आकस्मिक स्वास्थ्य सेवालाई व्यवस्थित, मितव्ययी र सेवाग्राहीमैत्री बनाउन अभियान सुरु गरिएको बताउँदै भने, “जुन स्थानबाट अनुमति प्राप्त छ, त्यही स्थानबाट एम्बुलेन्स सञ्चालन हुने व्यवस्था कडाइका साथ लागू गरिनेछ।” हाल बर्दिया, दाङ लगायतका जिल्लाबाट अनुमति लिएका केही एम्बुलेन्स नेपालगन्ज–कोहलपुर क्षेत्रमा बसेर सेवा दिइरहेको तथ्यसमेत उजागर भएको छ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार जिल्लामा कस्ता–कस्ता एम्बुलेन्स छन्, कुन पालिकाबाट अनुमति लिएको हो—समेतको अद्यावधिक विवरण तयार गरिँदैछ। उनका अनुसार दुई महिनाभित्र तथ्याङ्क सङ्कलन पूरा गरी त्यसपछि नवीकरण प्रक्रिया सुरु हुनेछ।
एम्बुलेन्स चालकहरूले फोन नउठाउने, ढिला पुग्ने, भारतका अस्पतालमा बिरामी पुर्याउँदा कमिसन लिने गरेको गुनासो बढेपछि सेवाको गुणस्तर सुधारतर्फ पनि छानबिन आवश्यक रहेको उपभोक्ता अधिकार मञ्चका केन्द्रीय सचिव वसन्त गौतमले बताए।
बाँकेमा हाल करिब ६० को हाराहारीमा एम्बुलेन्स रहेको अनुमान छ। नयाँ एम्बुलेन्स सेवा निर्देशिका २०८२ अनुसार ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्स मात्र आधिकारिक मानिने भएको छ। भेन्टिलेटर र स्वास्थ्यकर्मी सहितको ‘क’ वर्गको एम्बुलेन्स बाँकेमा हाल एचसिआरसी अस्पतालसँग मात्र रहेको छ भने अक्सिजन र प्राथमिक उपचार सुविधा भएको ‘ख’ वर्गको एम्बुलेन्स करिब १० वटा रहेको अनुमान गरिएको छ। ‘ग’ वर्गका करिब ४७ वटा गाडीलाई अब ‘बिरामी बोक्ने गाडी’ को श्रेणीमा राखिएको छ।


