गुल्मी मङ्सिर १९ – गाउँमा काम गर्ने उमेरका युवाहरु क्रमिक रूपमा विदेशतर्फ पलायन भइरहेपछि रेसुंगा नगरपालिका युवालाई उद्यम तथा उत्पादनमुखी कार्यमा लगाउन ‘मिसन रोजगारी’ कार्यक्रम लागू गरेको छ। युवाशक्ति बाहिरिँदै जाँदा उर्वर जमिन बाँझो बन्दै गएको र स्थानीय उद्यमी पनि दीर्घकालीन भविष्य देख्न संघर्ष गरिरहेको अवस्थालाई मध्यनजर गर्दै यो पहल गरिएको हो।
नगरपालिकाले दायित्व कार्यक्रमसँग सहकार्य गर्दै तीन चरणमा सञ्चालन हुने १८० दिनको ‘मिसन रोजगारी’ प्रारम्भ गरेको छ। दायित्वका संयोजक संजय पोखरेलका अनुसार भर्खरै आवेदन आह्वान भएको उक्त कार्यक्रमबाट ४० व्यावसायिक फर्म लाभान्वित हुनेछन्।
पहिलो चरणमा ४० उद्यमीलाई सक्षमीकरण, दोस्रो चरणमा तीमध्ये २० उद्यमीको स्तरीकरण तथा अन्तिम चरणमा १० उत्कृष्ट उद्यमीको स्तरोन्नति गरिनेछ। कार्यक्रमअन्तर्गत सहभागीलाई उद्यम सञ्चालनका लागि आवश्यक तालिम, सीप, प्रविधि तथा व्यवसायिक ज्ञान हस्तान्तरण गरिने बताइएको छ। दायित्वले लगानी, उत्पादन, बजार व्यवस्थापन र रोजगारी सिर्जनामा सहकार्य गर्नेछ, जसले उद्यमीलाई अनुदानमाथिको निर्भरता हटाई आत्मनिर्भर बन्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
नगर प्रमुख खिलध्वज पन्थीले युवालाई गाउँमै रोजगार सिर्जना गर्न सके विदेशिनुको आवश्यकता न्यून हुने उल्लेख गर्दै ‘मिसन रोजगारी’ले नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे। “श्रमको सम्मान गर्दै आफ्नै गाउँको माटोमा समृद्धि खोज्ने संस्कार विकास गर्न आवश्यक छ,” उनले भने, “युवाहरू उद्यम छाडेर विदेश पुग्न बाध्य भइरहेका बेला यो कार्यक्रम परिवर्तनको आधार बन्न सक्छ।”
उनीहरूका अनुसार कार्यक्रमका कर्मचारीले गाउँ–गाउँमा पुगेर उद्यमीसँग प्रत्यक्ष भेटघाटमार्फत कार्यक्रम प्रारम्भ गर्नेछन्।


