Thursday, March 5, 2026
spot_imgspot_img
Homeसमाजआज १२औँ विश्व माटो दिवस : ‘स्वस्थ माटोका लागि स्वस्थ गाउँ–शहर

आज १२औँ विश्व माटो दिवस : ‘स्वस्थ माटोका लागि स्वस्थ गाउँ–शहर

काठमाडौँ, मङ्सिर १९ – ‘स्वस्थ माटोका लागि स्वस्थ गाउँ–शहर’ भन्ने नारासहित आज १२औँ विश्व माटो दिवस नेपाललगायत विश्वभर मनाइँदै छ। संयुक्त राष्ट्रसंघको ६८औँ महासभाले सन् २०१३ मा खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सिफारिसअनुसार डिसेम्बर ५ लाई विश्व माटो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

नेपालमा भने सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालस्थित घुम्ती माटो परीक्षण प्रयोगशाला सञ्चालन गर्दै औपचारिक रूपमा पहिलोपटक दिवस मनाइएको थियो।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा परीक्षण गरिएका माटोमध्ये करिब ५४ प्रतिशत अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत क्षारीय पाइएको छ। पूर्वी क्षेत्रका माटो पश्चिमतर्फभन्दा बढी अम्लीय देखिएका छन्।

अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून रहेको विभागीय तथ्याङ्कअनुसार ३७ प्रतिशत माटोमा कम, ४५ प्रतिशतमा मध्यम र १८ प्रतिशतमा मात्र उच्च प्राङ्गारिक पदार्थ छ। तराईका माटोमा हिमाल तथा पहाडको तुलनामा प्राङ्गारिक पदार्थ झनै कम पाइएको छ।

भूक्षयका कारण नेपालमा वर्षेनी झन्डै १.८ मिलिमिटर माथिल्लो सतहको माटो नष्ट हुने गरेको छ। देशभर २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा उच्च छ भने फस्फोरस र पोटासको मात्रा धेरै ठाउँमा असन्तुलित देखिन्छ।

सूक्ष्म पोषकतत्वमध्ये जिङ्क, बोरोन र मोलिब्डेनमको स्तर सामान्यतया कम पाइएको विभागले जनाएको छ। विशेषगरी बोरोन पूर्वी नेपालमा न्यून छ।

विश्व माटो दिवस मनाउने उद्देश्य दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वराशक्ति जोगाउनु र भावी पुस्ताका लागि स्वस्थ माटो सुरक्षित राख्नु हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments